१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय स्वशासनको सफल अभ्यासमा कनकाई नगरपालिका



स्थानीय स्वशासनका दृष्टिले नेपालको संविधान प्रगतिशील संविधानभित्र पर्न आउँछ । संविधानले स्थानीय तहलाई विधायिकी, कार्यकारिणी र न्यायिक अधिकार प्रदान गरेको छ ।

कृष्णप्रसाद सापकोटा

उनीहरूले संविधान बमोजिम स्वशासन, सहशासन र साझाशासनको अधिकार प्रयोग गर्नेछन् । सङ्घ र प्रदेशमा जस्तो स्थानीय तहमा प्रतिपक्षको व्यवस्था छैन ।

प्रत्यक्ष जनताको निगरानीमा रहेर काम गर्ने हुँदा स्थानीय तहमा निलम्बन र विघटन हुने व्यवस्था रहेको छैन । स्थानीय तह एकल वा संयुक्त सरकारको रुपमा सञ्चालन हुने व्यवस्था रहेको छ । सभा र न्यायिक समितिमा सङ्घ र प्रदेशमा जस्तो शक्ति पृथक्कीत गरिएको छैन ।

यस प्रकारको मिश्रित शासकीय प्रबन्ध रहेको स्थानीय तहका काम, कर्तव्य र अधिकारको प्रयोग कस्तो र कसरी भएका होलान् ? यो जिज्ञासा यत्रतत्र सर्वत्र रहेका छन्।

नयाँ संविधान बमोजिम स्थानीय निर्वाचनबाट निर्वाचित स्थानीय जनप्रनिधिहरुमा नयाँ संरचना, बढ्दो भूमिका तथा जिम्मेवारी एवम् आवश्यक कानूनहरुको अभावका कारण शुरुवाती दिनहरुमा स्थानीय तह संचालनमा केहि अलमल देखियो ।

निर्वाचन सम्पन्न भएको २ बर्ष पछिको अहिलेको अवस्थालाई हेर्ने हो भने अधिकांश जनप्रतिनिधीहरु एक पछि अर्को नमूना कार्यहरु अगाडि बढाउँदै आफ्नो स्थानीय तहलाई अब्बल बनाउने प्रतिस्पर्धमा जुटेका देखिन्छन् ।

यस्तै एउटा उदाहरण हो, प्रदेश नं. १ अन्तर्गत झापाको कनकाई नगरपालिका । पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्गमा पर्ने यो नगरपालिका झापा जिल्लाको सबैभन्दा महत्वपूर्ण ब्यापारिक तथा बाणिज्य केन्द्रको रुपमा रहेको छ ।

२०७१ साल वैशाख २५ गतेको नेपाल सरकारको निर्णयबाट थप भएका नगरपालिकाहरु मध्येको एक कनकाई नगरपालिकामा ९५८८ घरधुरी तथा ४८१४१ जनसंख्या रहेका छन् ।

५२८४.९६ हेक्टर क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा रहेका ९ वटा वडाहरु मध्ये गत स्थानीय निर्वाचनमा ३ जना वडा अध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित भएका छन् भने बाँकी सबै पदमा नेकपाबाट निर्वाचित जनप्रतिनिधीहरु छन् ।

यो नेकपा र नेपाली कांग्रेसको संयुक्त सरकार हो । यसले संविधानप्रदत्त अधिकारहरुको प्रयोग गर्दै नगरपालिकाको समग्र विकासमा उदाहरणीय कार्यहरु गर्दै आएको छ ।

सुशासन तथा योजना निर्माण

नगरपालिकाले दुई वटा ऐन र बीसवटा कार्यविधि कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ । साथै नगरपालिकाले आवधिक योजना, राजस्व सुधार योजना, शैक्षिक योजना र वार्षिक योजना तर्जुमा गरी कार्यान्वयन गरिरहेको छ ।

वडा अध्यक्ष बेनीबहादुर कटुवाल भन्छन्, “कानून निर्माणका क्षेत्रमा हामी अलि कम हौँला तर काम र सुशासनका क्षेत्रमा भने हामी अब्बल छौँ । स्थानीय तहले बनाएको कानून सबैले बुझ्ने हुनुपर्छ भन्ने मान्यताबाट हामी निर्देशित छौँ ।”

नागरिकलाई सुसूचित गर्न चार ठाउँमा डिजिटल बोर्ड राखेर सोमार्फत नगरपालिकाको दैनिक आय–व्यय र तथ्याङ्क सार्वजनिक गरिएका छन् ।

नगरपालिकाका आयोजनामा गुणस्तरहीन सामाग्री वा त्यस्तो कार्य गरेको देखेमा तत्काल जनताले टोल फ्रि नम्बरमा सूचना दिन सक्ने व्यवस्था पनि नगरपालिकाले गरेको छ ।

नगरपालिकाका शाखा, सेवा केन्द्र र विद्यालयका शिक्षक कर्मचारीका लागि डिजिटल हाजिरी र सि।सि। क्यामराको माध्यमद्वारा अनुगमन तथा निरीक्षण गर्ने प्रणाली स्थापित भएको छ ।

नगरप्रमुख राजेन्द्र पोख्रेल भन्छन्ः नागरिक निगरानी र नगरपालिकाको अनुगमन प्रभावकारी भएका कारण चालीस लाख लागत इष्टिमेट भएको ग्राभेल सडक बाह्र लाखमा त्यही गुणस्तरको निर्माण भएको छ ।

उनी थप भन्छन्ः प्राविधिक रुपले जटिल तथा अलि बढी समस्याग्रस्त क्षेत्रमा दसलाख माथिको आयोजना ईबिडिङ्गबाट हुने गरेको छ । डिजिटल नगरपालिका कार्यक्रम अन्तर्गत कन्काई अनलाइन कार्यक्रम प्रारम्भ भएको छ । सहभागितालाई प्रभावकारी बनाउन मेयरसँग बालबालिका र जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालनमा रहेको छ । नागरिकहरूको सुझाव, गुनासो र आलोचना सुन्न र नगरपालिकाको काम कारवाही जानकारी गराउन सार्वजनिक सुनुवाई कार्यक्रम नियमित सञ्चालनमा रहेको छ ।

पूर्वाधार विकास

नगरपालिकाले जनसहभागितामूलक, उत्पादनमूलक, रोजगार प्रवद्र्धन र पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिका क्षेत्रभित्र पूर्वाधार विकासमा एउटा अस्पताल, चारवटा सहरीस्वास्थ्य केन्द्र, एक स्वास्थ्य चौकी निर्माण भएका छन् ।

नगरपालिकाले ३० किलोमीटर कालोपत्रे र १५० किलोमीटर ग्राभेल सडक निर्माण गरेको छ । ढल तथा कालोपत्रे सडक निर्माणका लागि ग्रामीण क्षेत्रमा ३० र सहरी क्षेत्रमा ४० प्रतिशत जनताबाट लागत सहभागिता हुने गरेको छ । उपभोक्त समितिबाट सञ्चालन हुने समग्र काममा ५ प्रतिशत नगद सहभागिता रहेको छ ।

अन्य पूर्वाधार विकासमा ज्येष्ठ नागरिक चौतारी भवन पाँचवटा, आवासविहीनका लागि १९ वटा घर, कोच राजवंशी समुदायका लागि साँस्कृतिक म्युजियम र होमस्टे निर्माण भएको छ ।

उज्यालो नगर कार्यक्रम अन्तर्गत सबै घरमा विद्युत पुर्याउन सिमेन्टको पोल, निर्माण र विपन्न चारसय पचास घरधुरीका लागि मिटरबक्स वितरण भएको छ । पशुपालक किसानको घरमा गोबर ग्याँस र निर्माणाधीन फोहोर प्रशोधन केन्द्रबाट नौसय घरधुरीका लागि पाईप प्रणालीबाट ग्याँस वितरण गर्ने कार्यक्रम छ ।

कन्काई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाहरूको पचास–पचास लाखको साझेदारीमा उर्जा पब्लिक लिमिटेड कम्पनी स्थापनागरी फोहोर सङ्कलन, प्रशोधन र वितरण आयोजना निर्माणाधीन अवस्थामा रहेको छ । सो कम्पनीमा फोहोर वितरक सबै नागरिक शेयर सदस्य हुने व्यवस्था पनि भएको छ ।

कन्काई, झापा गाउँपालिका र संघीय सरकारको संयुक्त लगानीमा कृषि उपज सङ्कलन केन्द्र (गोदामघर) निर्माण भएको छ । कन्काई नगरपालिकाले जामुन खाडी सीमसार क्षेत्रलाई ‘फनपार्क’ को रुपमा विकास गरी सो पार्कभित्र ‘नौका विहार’, ‘चिडियाखाना’ र ‘बाल उद्यान’ को विकास र व्यवस्थापन भएको छ ।

यसैगरी ध्यान, योग र व्यायामका लागि करिब पाँचसय क्षमताका दशवटा सामुदायिक योग केन्द्रहरु निर्माण गरी सञ्चालनमा ल्याइएका छन् ।

न्यायिक क्षेत्र

न्यायिक समितिमा दुईसयवटा मुद्दा दर्ता भएकोमा एकसय वटा मेलमिलाप भएका, दशवटा निर्णय भएका र बाह्रवटा क्षेत्राधिकार बाहिरका परेकाले सम्बन्धित क्षेत्रमा सम्प्रेषण भएको पाइन्छ ।

सो विषयमा वडा नं. ५ की मेलमिलाप समिति संयोजक जमुनादेवी शिवाकोटी भन्छिन्ः न्यायिक समितिमा सबैभन्दा धेरै विवाद लेनदेन र श्रीमान–श्रीमतीबीचको विवाद आउँछ ।

श्रीमान श्रीमतीको विवाद मध्ये सबैभन्दा धेरै विवाद वैदेशिक रोजगारीमा जानेहरूको आउँछ । मेलमिलापका लागि सबैभन्दा गाह्रो पर्ने गरेको ‘जिउनी’ जग्गाको विवाद हो ।

सबैभन्दा उल्लेखनीय पक्ष के छ भने न्यायिक समितिमा अधिकार आएपछि दशवर्ष अघि एकलाख पचास हजार रुपैयाँ बैनाबट्टा भएको जग्गा विवाद पनि मेलमिलापकै माध्यमद्वारा समाधान भएको छ ।

सामाजिक विकास

नगरपालिकाले पाँचहजार घरधुरी आवद्ध गरी स्वास्थ्य बीमा र स्वास्थ्य सेवा सञ्चालन गरेको छ । महिलाहरूका लागि निःशुल्क पाठेघर परीक्षण, युवा विद्यार्थीका लागि खेलकुद र आम नागरिकका लागि नियमित स्वास्थ्य शिविर र योग शिविरहरू सञ्चालन भएका छन् ।

यसैगरी आम जनताका लागि आधारभुत स्वास्थ्य सेवा कार्यक्रम, सुत्केरी महिलाका लागि पोषण कार्यक्रम र ज्येष्ठ नागरिकका लागि ६÷६ महिनामा घर–घरमै स्वास्थ्य परीक्षण सञ्चालन गरेको छ ।

यसैगरी ज्येष्ठ नागरिकका लागि अक्षय कोषको स्थापना र सञ्चालन पनि हुँदै आएको छ । नगरक्षेत्र भित्र रहेको अस्पतालमा दुईजना एमबिबिएस डाक्टर, ल्याब टेक्निसियन तथा सबै स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मी क्रियाशील रहेका छन् ।

शैक्षिक विकास योजना तर्जुमा अन्तिम चरणमा पुगेको छ । साधारण विद्यालयहरूमा डिजिटल हाजिरी, सि।सि। क्यामेरा, स्मार्टबोर्ड, विद्यालय म्युजियम र शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालन भएका छन् ।

शैक्षिक सिकाई उपलब्धी राम्रो भएका कारण संस्थागत विद्यालयका विद्यार्थी सामुदायिक विद्यालयमा आउने क्रम बढेको र विद्यालय छोड्ने दर घटेको पाइन्छ । प्राविधिक विद्यालयमा सिभिल ईन्जिनियर, आइ।टी। ईन्जिनियर र जियोमेट्रिक ईन्जिनियरको अध्यापन भएको छ।

कृषि कार्यक्रम

कनका नगरपालिकाले व्यावसायिक समूहहरु गठन गरी अर्गानिक कृषि पकेट कार्यक्रम विस्तार गरेको छ । माटो परीक्षणका लागि प्रयोगशाला सञ्चालन, माटोको उपचार, अर्गानिक तथा जैविक मल, उत्रत बिऊबिजन र कृषक तालिमको व्यवस्था गरिएको छ ।

वडा नं. ९ का अध्यक्ष भन्छन्ः दक्ष कर्मचारी, सङ्घ र प्रदेशमा, कृषिसेवा र कृषक जति स्थानीय तहमा यो विपरित प्रणालीको अन्त्य कहिले हुने हो भनी उनी आश्चर्य व्यक्त गर्छन् ।

यसैगरी स्थानीय लिलिदेवी ओली भन्छिन्, “‘यहाँ पशुसेवा केन्द्र छ, तर यहाँ ई।आई। सेवा पाइँदैन । त्यसका लागि सेवा केन्द्रमा कर्मचारी छैनन् । बाहिर गएर ई।आई। सेवा लिनुपरेको छ ।”

यस बारेमा नगरप्रमुख भन्छन्, “जनशक्तिको अभावमा पनि नगरपालिकाले पहिलेभन्दा अहिले राम्रो गरेको छ । राम्रो किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम छ । घाँसको बीऊमा सुधार र प्रवर्द्धन गर्ने कार्यक्रम छ । सङ्घले छिटै कृषि र पशुसेवाका कर्मचारी पठाउँछु भनेको छ । यसपछि कृषि र पशु विकासको क्षेत्रमा हामी निकै ठुलो फड्को मार्नेछौँ ।”

पर्यटन प्रबर्द्धन

कनकाई नगर क्षेत्रभित्र जामुन खाडी, फनपार्क र चिडियाखाना लगायत चौधवटा पर्यटकीय क्षेत्रहरुको विकास भएको छ । मठमन्दिर र पिकनिक स्थलहरू पनि निर्माण भएका छन् । गतवर्ष मात्रै यहाँ तीन लाख पचासहजार पर्यटक भित्रिएका थिए।

रोजगार र मजदुर हित सम्बन्धी कार्यक्रम

नगरपालिकाले मजदुरहरूको हितका लागि कोषको स्थापना र सञ्चालन गरेको छ । सो कोषमा नगरपालिकाले हरेक वर्ष रकम विनियोजन गर्दै पाँच वर्षभित्र एक करोड पुरयाउने योजना रहेको छ ।

कोही दूर्घटनामा परेमा उपचार खर्च तीनलाख रुपैयाँसम्म र मृत्यु भएमा दसलाख उपलब्ध गराउने प्रावधान रहेको छ । रोजगारविहीन नागरिकहरुलाई विद्युतको लागि सिमेन्ट पोल र सडकका लागि आबश्यक सिमेन्ट ब्लक बनाउन लगाई सबै नगरपालिकाले किनिदिने सहमति गरेको छ ।

युवा स्वरोजगार कार्यक्रमबाट बाउत्र जना युवाका लागि रोजगार सिर्जना गरेको छ । सो कार्यक्रमका लागि नगरपालिकाले पचपत्र लाख पचासहजार रकम विनियोजन गरेको छ । यो रकम घुम्तिकोषको रुपमा सञ्चालनमा छ ।

नागरिक सङ्गठन

नगरपालिका क्षेत्रका प्रत्येक घरधुरीबाट प्रतिनिधित्व गराई ‘टोल विकास संस्था’ हरु गठन गरिएका छन् । प्रत्येक विद्यालयमा ‘बाल क्लब’ र नगरस्तरमा ‘बाल सञ्जाल’ गठन भएको छ ।

त्यसैगरी युवा, महिला र विषयगत कृषक समूहका साथै नगरस्तरीय अर्गानिक कृषक समूहको गठन र परिचालन भएका छन् ।

सहभागितामूलक विकास

आवश्यकताको पहिचानमा, योजनाको प्राथमिकता निर्धारणमा, योजना छनौटमा र योजना कार्यान्वयनमा, संरक्षण र उपभोगमा नागरिक सहभागिता छ ।

राजश्व परामर्शमा उद्योग र वाणिज्य क्षेत्रको प्रतिनिधित्व, शैक्षिक विकासका लागि शिक्षाविद्, शिक्षक, विद्यार्थी र व्यवस्थापन समिति र तिनको सञ्जालको सहभागिता छ ।

स्रोत अनुमान तथा बजेट सीमा निर्धारणमा महिला दलित तथा अल्पसंख्यकको प्रतिनिधित्व र सहभागिता रहेको छ । छलफलकै क्रममा विकासविद् रितु सिलवाल भन्छन्, “नगरपालिकाको निर्वाचनपछि विगत वर्षभित्र नगरक्षेत्रमा बाटो र बस्तीबिहीन कोही रहनु परेको छैन । जनप्रतिनिधिहरूको सहायताका कारण जनता र जनप्रतिनिधिहरूको सम्बन्ध राम्रो बनेको मात्रै होइन अन्तरपालिका र अन्तरपालिकास्तरका जनता र जनप्रतिनिधिहरू बीचको सम्बन्ध पनि राम्रो बनेको छ । अझैयसलाई संस्थागत गर्नु जरुरी छ ।”

रितु थप भन्छिन्, “गत वर्ष किसानले उत्पादन गरेको मकै बिचौलियामार्फत बिक्री गर्दा प्रति क्विन्टल सोह्रसय प्राप्त गरेका थिए भने यो वर्ष कन्काई र झापा पालिकाको संयुक्त प्रयासमा कृषि उपज सङ्कलन र विक्री वितरणका लागि गोदामघर बनेको हुँदा सो मार्फत बिक्री गर्दा बत्तीस सयमा बिक्री भएको छ । अब हाम्रो लक्ष्य नगरपालिकाकै सहयोगमा धान, मकै र अन्य कृषि उपजलाई ब्रान्डिङ्ग, प्याकेजिङ्ग गर्दै यान्त्रिकरण र व्यवसायीकरण गर्ने लक्ष्य रहेको छ ।”

नगरपालिका र राजनीतिक दलहरूबीचको सम्बन्ध

नगरपालिकाका सबै निर्णयहरू सर्वसम्मत हुने गरेका छन् । नगरपालिका र राजनीतिक दलहरूबीचको सम्बन्ध सुमधुर र समन्वयकारी रहेको छ । नगरप्रमुखले कतिपय उद्घाटन नेकपा र नेकाका नेताबाट संयुक्त गराउँछन् ।

नगरले आयोजना गरेका कार्यक्रममा सबै दलका नेतालाई धारणा राख्न दिने कार्यक्रम स्थापित छ । राजनीतिक दलका प्रतिनिधिहरूबाट व्यक्त विचार जिम्मेवार, सहिष्णु र मैत्रीपूर्ण देखिन्छ । नगरपालिकाका काम प्रति दलका प्रतिनिधिहरू सकारात्मक र सहयोगात्मक देखिन्छन् ।

समानुपातिक र समावेशी विकास

समानुपातिक र समावेशी विकास नगरपालिकाको प्राथमिकताको क्षेत्र हो । वडा नं. ५ का झम्पलाल आचार्य भन्छन्ः निर्वाचन पहिले पछाडि पारिएको समुदाय र बस्तीमा कसैले वास्ता गर्दैन थियो, तर अहिले नगरपालिकाले यहाँका कामी, दमै, सार्की, सतार र वातर आदि समुदायको बस्तीमा बाटो, बिजुली, पानी, एम्बुलेन्स र रोजगारी सबै पु-याएको छ । त्यसैगरी स्थानीय ओम प्रसाद पाठक भन्छन्, अन्य कामसँगै नगर निर्वाचन पछि शिक्षा र स्वास्थ्यमा पनि धेरै राम्रो भएको छ ।”

वडा नं. ५ का पुण्यप्रसाद ओझा थप्छन्, नगरपालिकाबाट यही वडामा ३२ वटा बोरिङ्ग हुँदैछ। नगरपालिका नभएको भए यहाँ कसैले वास्ता गर्दैन थियो ।

छलफलकै क्रममा भूमि पराजुलीले प्रश्न गरे, “यस वडाका पछाडि पारिएका वर्ग र समुदाय सबैलाई पङ्खा वितरण गर्ने भनियो अरू सबैलाई बाँड्दा त्यस्तै अवस्थाका दुईजनालाई चाहिँ किन छुटाएको ?”

त्यसको जवाफमा वडा अध्यक्ष भन्छन्, हामीले २८ जनालाई पङ्खा वितरण गरेका थियौँ, छुटेकालाई थप दिन्छौँ, हाम्रो वडामा कसैले अन्याय भोग्नु पर्दैन ।

स्थानीय शासनप्रति जनताको सन्तुष्टि

अहिले स्थानीय सरकारले जनभावना विपरित कर धेरै लिन्छन् र जनप्रतिनिधिहरू आफ्नै सेवा, सुविधा र गाडी आदिमा खर्च गर्छन् भन्ने सुनिन्छ, यो नगरपालिकामा कस्तो छ भन्ने हाम्रो प्रश्नमा झम्पलाल आचार्य भन्छन्, “हाम्रो नगरपालिकामा जनप्रतिनिधि आउनु अघि एउटा गाडी थियो, त्यसमा अहिलेसम्म अर्को थप गरिएको छैन । नगरपालिकाका काममा सबै मिलेर त्यही गाडी चढ्छन् । नगर प्रमुख आफ्नै साइकल चढेर अफिस आउँछन् । हामीले तिरेको कर हाम्रै विकासमा आइरहेको छ । हाम्रा जनप्रतिनिधिहरूले जनभावना विपरित काम गरेका छैनन्। त्यसैले जनप्रतिनिधिको कामसँग हामी सबै जनता खुशी छौँ ।”

त्यसै प्रसङ्गमा अर्का स्थानीय ओमप्रसाद पाठक भन्छन्, “पहिले सांसद, नेता र ठुलाबडा गुहारेर जिल्ला वा केन्द्रबाट डेढदुई लाख ल्याउन सक्दा पनि खुशी लाग्थ्यो । तर अहिले नगरपालिका भएपछि हाम्रो वडामा मात्रै कम्तीमा डेढ दुइ करोड आउँछ । त्यसो भएका कारण हाम्रो आवश्यकता अनुसार बाटो, बस्ती, पानी आदि जनचाहना अनुसार सजिलै हाम्रो ठाउँमा काम भएको छ । हाम्रा मेयरले प्रदेश कानून बमोजिम आफुले पाउने सेवा सुविधा पनि सबै मजदुर हितकोषमा जम्मा गरिदिन्छन् । उनीले आफुसम्पत्र भएर त्यसो गरेका होइनन्, जनताप्रतिको समर्पण त्यागका कारण त्यसो गरेका हुन् । उनीले आफ्नो कार्यक्रमभित्र सबै सडक कालोपत्रे गर्छु, पैँसठ्ठठीदेखि पचासी फिट चौडा भएको क्षेत्राधिकार सहितको सडक बनाउँछु भने हामीले खुशीसाथ बिना मुआब्जा जग्गा दियौँ ।”

निश्कर्षः

कनकाई नगरपालिकाले संविधानतः अझ धेरै काम गर्न बाँकी होला, तर उनीहरूले प्राप्त गरेको स्रोत, साधन र जनशक्तिको आधारमा जे जत्ति काम गरेका छन् त्यो प्रशंसनीय छ । शिक्षा, स्वास्थ्य, कृषि, पशु सेवा र रोजगारीका क्षेत्रमा साधन, स्रोत, जनशक्ति र क्षमताले स्थानीय तहलाई जसरी सक्षम बनाउनु पर्ने हो त्यसरी हुन सकेको छैन ।

अहिले पनि केन्द्रिकृत मानसिकताले काम गरिरहेकै छ । पढ्ने विद्यार्थी, स्वास्थ्य सेवा दिनुपर्ने नागरिक, कृषि भूमि र घरपालुवा पशु स्थानीय तहमा, स्रोत, साधन, जनशक्ति, प्रयोगशाला, कार्यक्रम र अधिकारको प्रयोग चाहिँ सङ्घमा यो नमिल्ने कुरा हो ।

केन्द्रीकृत शासन प्रणालीले स्थानीय तहको सिर्जनात्मकता र नवप्रबर्द्धन प्रकट हुन दिँदैन । अहिले स्थानीय स्वशासित सरकारका कारण यसको आधारशिला सिर्जना गरेको छ ।

सङ्क्रमणकालिन अवस्थाका नाउँमा कामको वर्गीकरण र प्रशासनिक नियन्त्रण अहिले पनि सङ्घले एकलौटी रुपमा गरिराखेको छ । संविधानको मर्म अनुसार उनीहरूलाई स्वशासित र स्वायत्त ढङ्गले चल्न नदिएसम्म विकास र प्रगति सम्भव छैन ।

सन्निकटताको सिद्धान्तका आधारमा तहगत कार्यजिम्मेवारी, तदनुरुप वित्तीय व्यवस्था र उनीहरूप्रति उत्तरदायी हुने कर्मचारी संयन्त्रको प्रबन्ध गरी संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन सके स्थानीय सरकारद्वारा तीव्रतर विकासको गति अघि बढ्ने कुरामा ढुक्क हुन सकिन्छ ।

(२०७६ पौषमा सम्बन्धित नगरपालिकामा गरिएको स्थलगत अध्ययनका आधारमा तयार गरिएको आलेख । जिविस महासंघका पूर्वसभापति तथा र पहिलो संविधानसभाका सभासद सापकोटा स्थानीय शासनको क्षेत्रमा विज्ञ नेता हुनुहुन्छ । उहाँ करिब ३ दशकदेखि स्थानीय शासनको क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।)

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार ००:००