१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अध्यक्ष दाहालको क्षेत्रमा आठ स्वतन्त्रसहित अठार उम्मेदवार




चितवन
, १७ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दिएको चितवन क्षेत्र नं ३ मा आठजनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । दाहालसहित १० दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

कूल उम्मेदवारको सङ्ख्या अठार पुगेको छ । दाहाल वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका छन् भने लोकतान्त्रिक गठबन्धनबाट राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डे मुख्य प्रतिस्पर्धामा छन् । पाण्डे वर्तमान सरकारका वन तथा भूसंरक्षण मन्त्रीसमेत रहेका छन् । उनी दाहाल नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री थिए । सशस्त्र द्वन्द्वको समयमा माओवादी कार्यकर्ता रहेका टंकनाथ रेग्मी देशभक्त जनगणतान्त्रिक मोर्चाबाट उम्मेदवार छन् ।

यसैगरी, संघीय समाजवादी फोरमबाट अजय ठाकुर हजाम, राष्ट्रिय जनमोर्चाबाट उमा देवी शर्मा, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका कृष्णबहादुर तामाङ, नेकपा मालेका डम्बर श्रेष्ठ, नेपाल दलित पार्टीका दिलबहादुर विश्वकर्मा, विवेकशील साझा पार्टीका शरदराज पाठक र नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवालले सो क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन् ।

सोही क्षेत्रमा स्वतन्त्रबाट टंकप्रसाद बास्तोला, नन्दराज आचार्य, प्रवेश अधिकारी, भगवती प्रसाई, भरत बोहरा, विजयराज घिमिरे, सुनिल कुमार क्षेत्री र हरिप्रसाद दाहालले उम्मेदवारी दिएका छन् ।

सो क्षेत्रको प्रदेशतर्फ ‘क’ र ‘ख’ मा आठ आठ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाको क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ १५ जनाले उम्मेदवारी दिएका छन् जसमध्ये १२ जना विभिन्न राजनीतिक दलका छन् भने तीनजना स्वतन्त्र उम्मेदवार हुन् ।

सो क्षेत्रबाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट शिक्षा राज्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका शेषनाथ अधिकारी र वाम गठबन्धनबाट नेकपा एमालेका कृष्णभक्त पोखरेलले उम्मेदवारी दिएका छन् ।

सोही क्षेत्रको प्रदेश ‘क’ मा नौ दलका उम्मेदवार र ‘ख’ मा १० दल र एक स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । जिल्लाको क्षेत्र नं १ मा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् जसमा स्वतन्त्र चार र ११ दलका उम्मेदवार छन् ।

सो क्षेत्रबाट वाम गठबन्धनबाट पूर्व अर्थमन्त्री तथा नेकपा एमाले का नेता सुरेन्द्र पाण्डे र लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी दर्ता गराएका छन् ।

सोही क्षेत्रको प्रदेश ‘क’ मा १० दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् भने ‘ख’ मा पनि १० दलका उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चितवन जिल्लामा तीन लाख ५४ हजार ३६ मतदाता रहेका छन् ।
रासस

प्रकाशित मिति : १७ कार्तिक २०७४, शुक्रबार ००:००