२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनोनयन दर्तालाई सहज बनाउन तीनबुँदे सम्झौता




बनियानी
— झापा, १५ कात्तिक । झापामा मनोनयन दर्तालाई सहज र सरल बनाउन सरोकारवालासंग लिखित सम्झौता गरिएको छ ।

राजनीतिक दल र सरोकारवाला निकायसंग छलफल गरी मनोनयन दर्तालाई सहज बनाउन तीनबुँदे लिखित सम्झौता गरिएको निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिए ।

उनका अनुसार निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने, मनोनयन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आ–आफ्नो तर्फबाट प्रयास गर्ने लगायतका सम्झौता भएका छन् ।

त्यस्तै कात्तिक १६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुने मनोनयन दर्ताका लागि समय र कोणसभा गर्ने स्थानसमेत तोकिएको उनले बताए ।

राप्रपा लगायतको गठबन्धनले बिहान १० देखि ११ बजेसम्म र कोणसभा गर्ने स्थान मेची रंगशाला, राजपा सहितको गठबन्धनले बिहान ११ देखि १२ः३० बजेसम्म र कोणसभा गर्ने स्थान खाद्य गोदामको मैदानमा तोकिएको छ ।

त्यस्तै, नेपाली कांग्रेससहितको गठबन्धनले दिउँसो साढे १२ बजेदखि अपरान्ह २ बजेसम्म र कोणसभा एसपी मोड अगाडि, एमाले–माओवादी सहितको गठबन्धनले २ देखि ४ बजेसम्म र कोणसभाका लागि वीरेन्द्र उच्च मावि पछाडिको खुल्ला मैदानमा र साना दल तथा स्वतन्त्रले समय अनुकूल मिलाएर गर्ने र कोणसभा भने नेपाल विद्युत् प्राधिकरण अगाडिको तोकिएको निर्वाचन अधिकृत आचार्यले बताए ।

मनोनयनपत्र दर्ताका लागि झापाको भद्रपुरमा मुख्य निर्वाचन कार्यालयसहित पाँचवटा निर्वाचन कार्यालय स्थापना भइसकेको छ ।

जिल्ला समन्वय समितिको कार्यालयमा झापा क्षेत्र १ र ३ को कार्यालय स्थापना गरिएको छ । झापा क्षेत्र नम्बर २ को जिल्ला शिक्षा कार्यालय, क्षेत्र नम्बर ४ को जिल्ला स्काउट कार्यालय र क्षेत्र नम्बर ५ को जिल्ला हुलाक कार्यालयमा निर्वाचन कार्यालय स्थापना गरिएको छ ।

आयोगले झापा क्षेत्र नम्बर ३ मा मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश खिलानाथ रेग्मी, क्षेत्र नं १ मा निर्वाचन अधिकृततर्फ सर्वोच्च अदालत काठमाडौँका इजलास अधिकृत शिवप्रसाद पराजुली, क्षेत्र नं २ मा सर्वोच्चका उपरजिष्ट्रार इन्दिरा शर्मा, क्षेत्र नं ४ मा सर्वोच्चका इजलास अधिकृत प्रेम खड्का र क्षेत्र नं ५ मा इजलास अधिकृत शकुन्तला कार्की खटाइको छ ।

यता जिल्ला प्रहरी कार्यालय झापाले मनोनयन दर्तालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुद बनाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका एसपी विष्णुकुमार केसीले मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षाको व्यवस्था मजबुद बनाएको बताए । उनले भने, आवश्यकता अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिनेछ ।
रासस

प्रकाशित मिति : १५ कार्तिक २०७४, बुधबार ००:००