८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तेह्रथुममा दलहरुले उम्मेदवार टुंगो लगाए, चुनावी सरगर्मी बढ्यो




अमृत बास्तोला

आठराई— तेह्रथुम, १५ कात्तिक ।
तेह्रथुममा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि चुनावी सरगर्मी बढेको छ । जिल्लामा रहेका प्रमुख दलहरुले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार टुंगो लगाएपछि चुनावी सरगर्मी तातेको हो ।

चोकचोकमा रहेका चिया पसलदेखि जमघट हुने सार्वजनिकस्थलमा दलले उठाएका उम्मेदवारको विषयमा चर्चा हुन थालेको छ । नेपाली कांग्रेस तेह्रथुमले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्री सीता गुरुङलाई प्रतिनिधि सभाका लागि उम्मेदवार बनाएको छ ।

वाम गठबन्धनले एमालेका तर्फबाट प्रतिनिधि सभाका लागि पूर्व सभासद् भवानी खापुङलाई उम्मेदवार बनाएको छ । राज्यमन्त्री गुरुङ र खापुङबीचको चुनावी प्रतिष्पर्धा निकै रोचक हुने राजनीतिक विश्लेषकले बताएका छन् ।

महिलानेत्री गुरुङ नेपाली कांग्रेसकी निर्वाचित केन्द्रय सदस्य हुन् । २०६४ र २०७० को संविधान सभाको निर्वाचन गरी गुरुङ जिल्लाबाट दुई पटक समानुपातिक सभासद् हुन् । एमालेका खापुङ २०७० को संविधान सभा निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित पूर्व सभासद् हुन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट नेपाली कांग्रेसले अनुभवी नेता गोविन्द ढुंगानालाई उम्मेदवार बनाएको छ । गठबन्धनबाट एमालेले लक्ष्मण तिवारीलाई प्रदेशसभाका लागि उम्मेदवार बनाएको छ ।

ढुंगाना नेपाली कांग्रेस तेह्रथुमको दुई पटक नेतृत्व लिएका सभापति समेत हुन् । तिवारी पनि एमाले तेह्रथुमका जिल्ला अध्यक्ष हुन् । ढुंगाना अहिले पनि नेपाली कांग्रेस तेह्रथुमको जिल्ला सभापतिमा रहेका छन् । जिल्लाका दुई पार्टी अध्यक्षबीचको चुनावी प्रतिष्पर्धा पनि निकै रोचक हुने अनुमान गरिएको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट नेपाली कांग्रेसले विजय सम्बाहाम्फेलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेले निर्वाचन क्षेत्र २ बाट प्रदेश सभाका लागि तेजमान कन्दङवालाई उम्मेदवार बनाएको छ ।

नेपाली कांग्रेसका प्रखर नेता सम्बाहाम्फे र एमालेका पूर्व जिल्ला सभापति कन्दङवाबीचको प्रतिस्पर्धा पनि रोचक हुने बताइएको छ । वाम गठबन्धनबाट जिल्लामा नेकपा माओवादी केन्द्रले उम्मेदवार पाएको छैन ।

तेह्रथुममा प्रतिनिधि सभा निर्वाचनका लागि एउटा मात्र क्षेत्र रहेको छ भने प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेका छन् ।
रासस

प्रकाशित मिति : १५ कार्तिक २०७४, बुधबार ००:००