रञ्जित तामाङ
भूकम्पपछिको पुनर्निर्माण सुस्त हुँदा साल्ट ट्रेडिङ कर्पोरेसनले खरिद गरेको ५० हजार बन्डल जस्तापाता डेढ बर्षदेखि गोदाममा थन्किरहेको छ ।
साल्ट ट्रेडिङका अनुसार २०७२ बैशाख १२ गते विनासकारी भूकम्प गएपछि जेठ २२ गतेको मन्त्रीपरिषद्को बैठकले आपुर्ति मन्त्रालयअन्र्तगत साल्ट ट्रेडिङ र नेसनल ट्रेडिङबाट जस्तापाता खरिद गर्ने निर्णय गरेको थियो । सरकारले उक्त जस्तापाता विद्यालय, स्वास्थ्य चौकी तथा अस्पताल र सार्वजनिक भवनहरू पुनर्निर्माणका लागी खरिद गर्ने निर्णय गरेको थियो ।
मन्त्रीपरिषद्को निर्णयलगत्तै भारतको जिन्दल इन्डिया लिमिटेडबाट ३० करोड रुपैयाँबराबरको ५० हजार बन्डलजस्ता खरिद गरेको साल्ट ट्रेडिङका विभागीय प्रबन्धक बृजेशकुमार झाले बताए । तर कतैबाट पनि माग नआउँदा जस्तापाता पर्साको बीरगञ्ज र काठमाडौंको सतुङ्गल गोदाममा थन्किरहेको छ ।
“मन्त्रीपरिषद्को निर्णयलगत्तै खरिद गरेको जस्तामध्ये ८/१० बन्डलमात्रै विक्रि भएको छ,” झाले भने, “पुनर्निर्माणको काममा ढिला भएर हो कि, के भएर हो जस्ताको माग नै आएको छैन ।” जस्तापाता बिक्रि नहुँदा दिनप्रतिदिन साल्ट ट्रेडिङले आर्थिक नोक्सान बोहोरिरहेको झाले गुनासो गरे । एकातिर गोदाम ओगटिरहेको र अर्कोतिर लगानी नउठ्दा घाटा बेहोरिरहेको छ ।
“लगानीको प्रतिफल नआउनु नै घाटा हो । बैंकहरूको ब्याजदर औसतमा ८ प्रतिशत छ,” झाले भने, “डेढ बर्षयता ३० करोड रुपैयाँको ८ प्रतिशतका दरले ब्याज हिसाब गर्दा साल्ट ट्रेडिङले साढे ३ करोड रुपैयाँभन्दा बढी नोक्सान बेहोरिसकेको छ ।” जस्ता बिक्रि नहुने अबस्था लम्बिने हो भने घाटा अझ बढ्दै जानेछ ।
आपुर्ति मन्त्रालयले गत मंसिर २३ गते सहरी विकास, संघीय मामिला तथा स्थानीय विकास, शिक्षा र स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरि जस्तापाता खरिद गर्न अनुरोध गरेको थियो । तर अहिलेसम्म साल्ट ट्रेडिङबाट जस्ता खरिदको कुनै प्रक्रिया नै सुरू भएको छैन । सर्बसाधरणले पनि साल्ट ट्रेडिङको जस्ता किन्न पाउँछन्, तर उनीहरूले पनि किनेका छैनन् ।
प्रमुख कारणः सुस्त पुनर्निर्माण
जस्तापाता बिक्रि नहुनुको मुख्य कारण सुस्त पुनर्निर्माण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि स्वीकारेको छ ।
प्राधिकरणले तयार पारेको विपद्पछिको आवश्यकता आँकलन (पीडीएनए) प्रतिवेदनअनुसार भूकम्पले ४ लाख ९८ हजार ८५२ व्यक्तिगत घर पूर्णरुपमा क्षति भएको थियो । यसैगरि २ लाख ५६ हजार ६९७ व्यक्तिगत घरमा आंशिक क्षति पुगेको थियो । यसैगरि करिब ९ हजार विद्यालयका १९ हजारभन्दा बढी कोठा पूर्ण र ११ हजारभन्दा बढी कोठामा आंशिक क्षति पुगेको थियो । १ हजार १ सय, स्वास्थ्य चौकी तथा अस्पताल भवन, २ हजार ६५६ सरकारी भवन तथा ३ हजार ६२२ वटा अन्य सरकारी भवन भत्किएका थिए ।
भूकम्प गएको २० महिना भइसक्दा पनि पुननिर्माणले गति लिन सकेको छैन । पुनर्निर्माणको अबस्था कतिसम्म ढीलो छ भने, अहिले भरखर लाभग्राहीलाई पहिलो किस्तावापतको अनुदान दिएको छ । प्राधिकरणका निमित्त प्रवक्ता डा. भिष्मकुमार भुषालका अनुसार अहिलेसम्म करिब १८ हजार मात्रै व्यक्तिगत घर बनिरहेका छन् भने ३६ वटा विद्यालयको ठेक्का लागेको छ ।
“भवन निर्माण सकिने बेलमा मात्रै जस्तापाता चाहिन्छ । भरखर अनुदान सम्झौता हुँदैछ । सरकारी भवनको पनि ड्रइङ डिजाईन, ठेक्का प्रक्रिया सकिएपछि मात्रै निर्माण सुरू हुन्छ,” भुषालले भने, “पुनर्निर्माणको प्रारम्भिक चरणमै भएकाले जस्ताको माग नभएको हुनसक्छ । पुनर्निर्माणको समग्र प्रक्रिया किन ढिला भयो भन्नेबारे चाँही मैले नबोल्दै बेस होला !”
प्रतिक्रिया