२९ चैत्र २०८०, बिहिबार | Thu Apr 11 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिसो मौसममा निर्वाचनको तापक्रम बढ्दै




नारायण न्यौपाने

काठमाडौँ, १४ कात्तिक ।
केही दिनयता देशका विभिन्न भागमा पानी परेर चिसो बढे पनि मुलुकको चुनावी तामक्रम भने ह्वात्तै बढेको छ ।

मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको टिकट वितरण र चुनावी प्रचारप्रसारले राजनीतिक सरगर्मी निकै तातेको हो । पहिलो चरणको निर्वाचनका लागि कात्तिक ८ गते निर्वाचन चिन्ह पाएसंगै दलका नेता तथा उम्मेदवार गाउँ पसेपछि काठमाडौँ केन्द्रित चुनावी चर्चा गाउँ–गाउँसम्म पुगेको छ ।

पछिल्ला तीन दिनमा परेको असिना र पानीले वातावरणलाई निकै चिसो बनाएको छ भने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनको प्रचारप्रसारले पनि केही दिनयता तीव्रता पाएको छ ।

मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार गर्ने क्रममा उम्मेदवार अहिले आमसभा र घरदैलो मार्फत मतदातालाई आफ्नो पक्षमा मतदान गराउन भोट माग्दै हिँडिरहेका छन् ।

दूरदराजका गाउँघरमा वीरलै देखिने पार्टीका शीर्ष नेतासमेत केही दिनयता मतदातासंग हात जोडेर आफ्नो पार्टी र पार्टीका उम्मेदवारलाई भोट माग्न आएको देखेपछि मतदातामा उत्साह थपिएको छ ।

निर्वाचनप्रतिको द्विविधा हटाउन प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले समयको चाप र विभिन्न चुनौती भए पनि तोकिएकै समयमा निर्वाचन हुनेमा अब कुनै शक्तिले रोक्न नसक्ने बताएका छन् ।

नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई, नेकपा एमालेका सचिव योगेश भट्टराई, नेकपा माओवादीका नेता देवप्रसाद गुरुङ तथा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा यतिखेर मतमाग्न गाउँगाउँ पुगेका छन् ।

विगतको तुलनामा निर्वाचनको प्रचारप्रसारको क्रममा दल होस् वा उम्मेदवारबाट आफ्ना प्रतिस्पर्धीलाई गालीगलौज तथा आरोप प्रत्यारोप गर्ने प्रवृत्तिमा केही कमी देखिएको छ ।

प्रमुख राजनीतिक दलका अतिरिक्त अरु साना राजनीतिक दलबीचको चुनावी तालमेलबाट विगतका निर्वाचनमा जस्तो भोट माग्न गाउँमा पुग्ने उम्मेदवारको संख्या भने निकै घटेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ३२ जिल्लामा गरी जम्मा ७०२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

मतदाता भने यो समयमा बालीनाली भित्र्याउन व्यस्त छन् । मतदातालाई भेट्न उम्मेदवार खेतबारीका कन्ला—कान्लामा पुगेका छन् । यो निर्वाचनबाट प्रतिनिधिसभातर्फ ३७ जना र प्रदेशसभातर्फ ७४ जना गरी जम्मा १११ जना जनप्रतिनिधिको चयन हुनेछ ।

जुम्ला जिल्लाका एमालेका उम्मेदवार बलबहादुर महत चुनाव प्रचारप्रसार गर्दै पातारासी गाउँ पुगेका छन् भने नेपाली कांग्रेसका नेता दिलबहादुर घर्ती निर्वाचनसम्बन्धी भेटघाटमा सोमबार मध्यनेपाल नगरपालिका पुगेका छन् ।

पहिलो चरणको निर्वाचनमा केही चर्चित नेताबीचका प्रतिष्पर्र्धाले सञ्चार माध्यमलाई समाचार बनाउन निकै ठूलो खुराक मिलेको छ । गोर्खा, सिन्धुपाल्चोक, ओखलढुंगा, नुवाकोट, जाजरकोट, रुकुम, रोल्पा लगायतका जिल्ला यति बेला निकै चर्चामा छन् ।

यसैगरी, नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङ, गंगालाल तुलाधर, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, नेपाली कांग्रेसका पूर्वाबहादुर तामाङ लगायतका नेताहरू चुनावी प्रसारप्रसारमा भाग लिने क्रममा गाउँगाउँमा पुगेका छन् ।

नेपाली जनताले लामो संघर्षबाट प्राप्त गरेको संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा आगामी मंसिर १० र २१ गते हुने निर्वाचनलाई विश्व समुदायले समेत निकै उत्सुकता र चासोका साथ हेरिरहेको छ ।
रासस

प्रकाशित मिति : १४ कार्तिक २०७४, मंगलबार ००:००