१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रेपलाञ्चोकमा चुनावी नतिजा अाफ्नाे पक्षमा पार्न कसरत शुरु




युवराज पाण्डे

बनेपा, १२ कात्तिक ।
काभ्रेपलाञ्चोकमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले चुनावी नतिजा आफ्नो पक्षमा पार्न कसरत शुरु गरेका छन् ।

वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुबैले संगठन विस्तार, प्रचारप्रसार समिति, भ्रातृ संगठन परिचालन लगायतका कामलाई प्रभावकारी बनाएको बताएका छन् । तर जिल्लामा गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा वाम गठबन्धनले अधिकांश स्थानमा जित हासिल गरेर झण्डै छत्तीस हजार मत अन्तरले उछिनेको थियो ।

गत स्थानीय तहको निर्वाचनमा नेकपा एमाले ६८ हजार ६४७ मत ल्याएर पहिलो भएको थियो भने नेकपा माओवादी केन्द्रले ३० हजार ४४८ मत ल्याएको थियो । दुवै बाम दलको कूल मत ९९ हजार ९५ हुन्छ । नेपाली कांग्रेसले ६३ हजार १३९ मत मात्र पाउन सकेको थियो ।

काभ्रेपलाञ्चोकमा रहेको सात स्थानीय तहमध्ये तीन स्थानीय तह बाहेक सबै स्थानीय तहमा वाम दल विजयी भएका थिए । धुलिखेल नगरपालिकामा एमालेले सात हजार ९९१, कांग्रेसले पाँच हजार ४०८ र माओवादी केन्द्रले एक हजार ६२१ मत प्राप्त गरेका थिए ।

बनेपा नगरपालिकामा एमालेले ११ हजार ४०९, कांग्रेसले नौ हजार ६५९ र माओवादी केन्द्रले एक हजार ३७० मत प्राप्त गरेका थिए ।

पनौती नगरपालिकामा एमालेले १२ हजार २५६, कांग्रेसले नौ हजार १९० र माओवादी केन्द्रले एक हजार २३९ मत प्राप्त गरेका थिए । मण्डनदेउपुर नगरपालिकामा एमालेले ६ हजार २३६, कांग्रेसले पाँच हजार ७२ र माओवादी केन्द्रले दुई हजार २३ मत पाएका थिए ।

नमोबुद्ध नगरपालिकामा एमालेले पाँच हजार ३४६ कांग्रेसले चार हजार ९६१ र माओवादी केन्द्रले तीन हजार ८६७ मत ल्याएका थिए । पाँचखाल नगरपालिकामा कांग्रेसको ६ हजार ८०० मत रह्यो जबकि एमालेले सात हजार ३५६ र माओवादी केन्द्रले तीन हजार २७९ मत ल्याए ।

महाभारत गाउँपालिकामा माओवादी केन्द्रले दुई हजार ३४२ मत पायो । चौरीदेउराली गाउँपालिकामा पनि माओवादी केन्द्रले तीन हजार ९१४ पाउन सक्यो । भूम्लु गाउँपालिकमा एमालेले तीन हजार ५४८ मतसहित अग्रस्थानमा रह्यो । रोशी गाउँपालिकामा कांग्रेसले चार हजार ३७२ मत पायो ।

बेथानचोक गाउँपालिकामा कांग्रेसले तीन हजार ८६८, एमालेले दुई हजार ७४१ र माओवादी केन्द्रले एक हजार ७४९ मत ल्याएको थियो । खानीखोला गाउँपालिकामा एमालेले दुई हजार २३, माओवादी केन्द्रले एक हजार २०७ र कांग्रेसले एक हजार ११५ मत प्राप्त गरेका थिए ।

तेमाल गाउँपालिकामा कांग्रेसले तीन हजार ९४९ मत पायो । विसं २०४८ सालदेखि वाम शक्तिको वर्चश्व रहेको काभ्रेपलाञ्चोकमा विसं २०५६ मा कांग्रेसले दुईवटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको थियो तर २०६४ मा पुनः वामशक्तिले वर्चश्व कायम गरेको थियो ।

विसं २०७० को निर्वाचनमा पुनः कांग्रेसले दुईवटा निर्वाचन क्षेत्रमा जित हासिल गरे भने २०७४ सालको स्थानीय तहको निर्वाचनमा अधिकांश स्थानीय तहमा वाम शक्ति विजयी भयो ।

काभ्रेपलाञ्चोकका पुराना कम्युनिष्ट नेता तथा तत्कालीन जिल्ला जिविस सभापति कृष्णप्रसाद सापकोटाले वाम शक्तिको विजयले जिल्लामा पूर्वाधारको विकासले तीव्रता पाएको उल्लेख गर्दै अवको १० वर्षमा आर्थिक संमृद्धि ठाउँ पाउने विश्वास व्यक्त गरे ।

माओवादी केन्द्रका नेता दिनानाथ गौतमले उम्मेदवारी दर्ता गरेपछि संयुक्त रुपमा भोट माग्न गाउँ गाउँ जाने जानकारी दिए । वाम गठबन्धन विजयी भएपछि देशमा नयाँ परिवर्तनको लहर शुरु हुने उनको भनाइ छ ।

नेपाली कांग्रेसका जिल्ला उपाध्यक्ष अच्युत पौडेलले निर्वाचनका लागि प्रचारप्रसारको काम प्रभावकारी रुपमा अघि बढाइएको बताए ।
रासस

प्रकाशित मिति : १२ कार्तिक २०७४, आइतबार ००:००