१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माेरङ, हेटाैडा र चितवनमा मुख्य निर्वाचन अधिकारीका कार्यालय स्थापना




विराटनगर
, ९ कात्तिक । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको संघीय संसद् र प्रदेश निर्वाचनका लागि मोरङ जिल्लामा मुख्य निर्वाचन अधिकारीको कार्यालय स्थापना भएको छ । जिल्ला न्यायाधीश राजुकुमार खतिवडाले विराटनगर ७ स्थित वीरेन्द्र सभागृहमा स्थापना गरेको सो कार्यालयको एक समारोहबीच उद्घाटन गरे ।

सो अवसरमा उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्न दलहरूसंग आग्रह गरे । प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षाको प्रत्याभूति दिने विश्वास दिलाए ।

क्षेत्रीय निर्वाचन आयोगको कार्यालय, विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले निर्वाचन निष्पक्षरुपमा सम्पन्न गर्न आचारसंहिता पालना गर्न दलहरुसंग आग्रह गरे । यसैबीच, मुख्य निर्वाचन अधिकृतको कार्यालयका साथै मोरङ जिल्लाका ६ वटै निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना गरिएको छ ।

सोअनुरुप, जिल्लाको १ नं निर्वाचन क्षेत्रमा जीवनकुमार भण्डारी, २ नं क्षेत्रमा टंकबहादुर महत, ३ नं क्षेत्रमा विकास श्रेष्ठ, ४ नं क्षेत्रमा ईश्वरमणि ओझा, ५ नं क्षेत्रमा कृष्णमोहन कोइराला र ६ नं क्षेत्रमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा रहेका छन् ।

यस जिल्लामा ३०० मतदानस्थलमा ७५८ वटा मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगको कार्यालय, विराटनगरले जनाएको छ ।

यसैबीच, हेटौंडाबाट प्राप्त समाचार अनुसार प्रदेश नं ३ अन्तर्गत मकवानपुर जिल्लामा आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ र क्षेत्र नं २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय हेटौँडास्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको छ ।

उक्त निर्वाचन अधिकृतको कार्यालयको मकवानपुरका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले शुभारम्भ गर्दै आगामी मंसिर २१ गते हुने निर्वाचनमा निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित वातावरणमा सञ्चालन गर्न निर्वाचन अधिकृतको कार्यालय प्रतिबद्ध रहने बताएका छन् ।

चितवन– आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि चितवन जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । ती कार्यालयको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले उद्घाटन गरेका हुन् ।

यसअघि स्थानीय तहको निर्वाचनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयको छात्रावासमा नै ती तीन कार्यालय स्थापना गरिएको हो ।

कार्यालयको उद्घाटन गर्दै शर्माले निर्वाचन सफल बनाउन सबैको सहयोगको खाँचो रहने बताए । शान्तिपूर्ण वातावरणमा भयरहित तवरले निर्वाचन सम्पन्न गर्ने पनि उनले बताए ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापा, क्षेत्र नं १ का निर्वाचन अधिकृत परमेश्वर पराजुली, क्षेत्र नं ३ का निर्वाचन अधिकृत शम्भूराज रेग्मीलगायतको उपस्थिति रहेको थियो । जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् ।
रासस

प्रकाशित मिति : ९ कार्तिक २०७४, बिहिबार ००:००