७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदातालाई आफ्नो पक्षमा पार्न दलहरु सक्रिय




पोखरा
, ९ कात्तिक । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिएसंगै मतदातालाई आफ्नो पक्षमा पार्न कास्कीमा राजनीतिक दलहरु सक्रिय देखिएका छन् ।

दलहरु यतिबेला कोणसभा, बैठक, भेटघाट र संगठन विस्तार जस्ता कार्यक्रमलाई अगाडी बढाएका छन् । संगठन मजबुत बनाउन विभिन्न राजनीतिक दलका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्य पनि भइरहेका छन् ।

महानगर र गाउँपालिकाका चोक, चौतारा र चिया पसलमा निर्वाचनकै बारेमा चर्चा परिचर्चा हुने गरेको पाइन्छ । सबै राजनीतिक दलका जिल्ला समितिले आ–आफ्ना पार्टीका उम्मेदवारका आकांक्षीको नाम संकलन गरेर केन्द्रमा सिफारिस गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नयाँशक्ति पार्टी र संघीय समाजवादी फोरम नेपाललगायत सबैले उम्मेदवारको नाम केन्द्रमा पठाएका हुन् ।

उम्मेदवारी मनोनयन दर्ता गर्ने समय कात्तिक १६ गते पनि नजिक आइरहेकाले केन्द्रमा सिफारिस गरिएका सम्भावित उम्मेदवार यतिबेला टिकट पाउन दौडधुपमा लागेका छन् । उम्मेदवारका आकांक्षी धेरै भएकाले टिकट वितरण गर्न नेतालाई पनि निकै सकस परेको देखिन्छ ।

कास्कीमा प्रतिनिधि सभा निर्वाचनका लागि तीन, प्रदेश सभाका लागि छ निर्वाचन क्षेत्र कायम गरिएको छ । यसअघि दोस्रो संविधानसभाको निर्वाचनमा कास्कीमा चार निर्वाचन क्षेत्र कायम गरिएको थियो ।

दोस्रो संविधानसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं १ र २ बाट नेपाली कांग्रेस तथा क्षेत्र नं ३ र ४ बाट एमालेले जितेको थियो । क्षेत्र नं १ बाट कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापा, क्षेत्र नं २ बाट कांग्रेसकै शारदा पौडेल, क्षेत्र नं ३ बाट नेकपा एमालेका केन्द्रीय सदस्य रवीन्द्र अधिकारी र क्षेत्र नं ४ बाट एमालेकै केन्द्रीय सदस्य सीता गिरी ओली विजयी भएका थिए ।

क्षेत्र नं १ मा एमालेबाट पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का उपाध्यक्ष एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी सर्वसम्मत सिफारिसमा परेका छन् । माओवादी केन्द्रबाट सर्वसम्मत सिफारिसमा परेका पूर्वमन्त्री देव गुरुङले बाम गठबन्धनबाट लमजुङमा उम्मेदवारी दिई सकेकाले अधिकारी सम्भवतः सो क्षेत्रकों बाम गठबन्धनका एक्ला उम्मेदवार हुन् ।

लोकतान्त्रिक मोर्चाबाट नेपाली कांग्रेसका यज्ञबहादुर थापा, पूर्व सभामुख तारानाथ रानाभाट र पार्टीका केन्द्रीय सदस्य जीवन परियारमध्ये एकजनाले टिकट पाउने निश्चित छ ।

त्यस्तै क्षेत्र नं २ मा बाम गठबन्धनबाट जिल्ला विकास समितिका पूर्वसभापति एवं एमालेका नेता रवीन्द्र अधिकारी र माओवादी केन्द्रका नेता राजकाजी गुरुङमध्येबाट एक र लोकतान्त्रिक मोर्चाबाट कांग्रेसका शारदा पौडेल, जिल्ला नेता सोभियतबहादुर अधिकारीमध्ये एकले टिकट पाउने पार्टी स्रोतले जनाएको छ ।

यसरी नै क्षेत्र नं ३ मा बाम गठबन्धनबाट एमालेका नेता जगत विश्वकर्मा, जगन्नाथ बाँस्तोला, उमा कोइराला, माओवादी केन्द्रका रामजी बरालमध्ये एक र लोकतान्त्रिक मोर्चाबाट कांग्रेसका पूर्व राज्यमन्त्री महादेव गुरुङ, पूर्व सांसद शुक्रराज शर्मामध्ये एकले पाउने बताइएको छ ।

जिल्लामा कुल मतदाता दुई लाख ५५ हजार ४५६ रहेका छन् । तीमध्ये पुरुष एक लाख १९ हजार २९४, महिला एक लाख ३६ हजार १५४ र तेस्रो लिंगी चार जना रहेका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा ९६ हजार ८४, क्षेत्र नं २ मा ७० हजार ६५१ र क्षेत्र नं ३ मा ८८ हजार ७१७ मतदाता रहेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ । पोखरा लेखनाथ महानगरपालिका, अन्नपूर्ण, मादी, माछापुच्छ्रे र रुपा गाउँपालिकामा १५० मतदानस्थल र ३१७ मतदान केन्द्र कायम गरिएको छ ।
रासस

 

प्रकाशित मिति : ९ कार्तिक २०७४, बिहिबार ००:००