१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीमा दुई गठबन्धनबाट बर्तमान र पूर्वराज्यमन्त्री चुनावी मैदानमा




विनोदसिंह बिष्ट

बैतडी, ७ कात्तिक । पहिलो चरण अन्तर्गत आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा बर्तमान र पूर्व राज्यमन्त्री चुनावी मैदानमा उत्रिएका छन् ।

अहिले शेरबहादुर देउवा सरकारमा वाणिज्य राज्यमन्त्री रहेका लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता नरबहादुर चन्द प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि चुनावी मैदानमा उत्रिएका छन् ।

यस्तै, बाम गठबन्धनबाट साझा उम्मेदवार रहेको नेकपा एमालेका नेता पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारी पनि प्रतिनिधिसभाको लागि बैतडीमा चुनावी मैदानमा उत्रिएका छन् । पूर्व अर्थराज्यमन्त्री भण्डारी केपी ओली प्रधानमन्त्री रहँदा अर्थ राज्यमन्त्री थिए ।

यसअघि विसं २०७० मा सम्पन्न भएको संविधानसभा निर्वाचनमा दुवैजना बैतडीबाट निर्वाचित भएका थिए । बैतडीमा २०७० सालको संविधानसभा निर्वाचनको बेला २ निर्वाचन क्षेत्र रहेका थिए । भण्डारी क्षेत्र नं १ बाट विजयी भएका हुन् भने चन्द क्षेत्र नं २ बाट विजयी भएका थिए । दुवै गठबन्धनका उम्मेदवार भएकाले कडा प्रतिस्पर्र्धा हुने अनुमान गरिएको छ । दुवै उम्मेदवारले मनोनयन दर्ता गर्ने क्रममा आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।

सारा कम्युनिष्ट एक भएर आएकाले सारा लोकतान्त्रिक शक्ति एक भएर प्रतिनिधि र प्रदेशसभामा लड्नुपरेको वाणिज्य राज्यमन्त्री एवं लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार नरबहादुर चन्दको भनाइ छ ।

देशमा जारी गरिएको संविधानलाई कार्यान्वयन गर्दै आत्मनिर्भर अर्थतन्त्रको बाटोबाट मुलुकको विकास गरी समाजवादको दिशातर्फ अघि बढ्न आफूहरुको उम्मेदवारी भएको बाम गठबन्धनबाट एमालेका प्रतिनिधिसभा उम्मेदवार दामोदर भण्डारीको भनाइ छ ।

बैतडीमा नेपाली कांग्रेस र राप्रपाले लोकतान्त्रिक गठबन्धन तथा एमाले र माओवादी केन्द्रले बाम गठबन्धनसहित उम्मेदवारी दर्ता गरेका छन् ।

यसैगरी, प्रतिनिधिसभाका लागि एक क्षेत्र रहेको बैतडीमा विवेकशील साझा पार्टीका तर्फबाट नारायणदत्त अवस्थी, राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी, जनसमाजवादी पार्टी नेपालबाट धनबहादुर बोहरा र एकीकृत राप्रपा राष्ट्रवादी बाट त्रिलोकबहादुर चन्दले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी, प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनका साथै अन्य दलले पनि उम्मेदवारी दर्ता गराएका छन् । बैतडी क्षेत्र नं १ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका हरिमोहन भण्डारी, बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट, जनसमाजवादी पार्टी नेपालका तर्फबाट भगीरथसिंह कुँवर र राष्ट्रिय जनमोर्चाका तर्फबाट अर्जुनसिंह मडैले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी, बैतडी क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका गणेश चन्द, बाम गठबन्धनका तर्फबाट नेकपा एमाले का लीलाधर भट्टले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए । क्षेत्र नम्बर २ मा भने बाम र लोकतान्त्रिक गठबन्धनबाहेक अरुले मनोनयन दर्ता गराएका छैनन् ।

बैतडीमा अरु पार्टीले पनि प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराएको भए पनि बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसले प्रदेश नं ७ मा पहिलो चरणअन्तर्गत निर्वाचन हुने जिल्लामध्ये बैतडीमा मात्रै राप्रपासंग तालमेल गरेको हो ।

एमालेले भने पहिलो चरणमा निर्वाचन हुने प्रदेश नं ७ का चार जिल्लामध्ये बैतडी, दार्चुला, बझाङमा तालमेल गरेको छ भने बाजुरामा एमालेले सबै आफ्ना उम्मेदवार उठाएको छ ।

बैतडीमा छ दलले प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एकलाख ३२ हजार ३१७ मतदाता रहेको बैतडीमा प्रतिनिधिसभाका लागि १ र प्रदेशसभा निर्वाचनका लागि २ क्षेत्र निर्धारण गरिएको छ ।

नयाँशक्तिले बाम गठबन्धनलाई सहयोग गर्ने
केन्द्रमा लोकतान्त्रिक गठबन्धनमा सामेल भएको नयाँशक्ति पार्टीले बैतडीमा बाम गठबन्धनलाई चुनावमा सहयोग गर्ने भएको छ ।

एमाले, माओवादी केन्द्र र नयाँशक्तिको सोमबार बसेको बैठकले बाम गठबन्धनलाई चुनावमा सहयोग गर्ने सहमति गरेको छ । एमालेका जिल्ला सचिव लीलाधर भट्ट, माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमप्रकाश भट्ट र नयाँशक्तिका जिल्ला संयोजक कृष्णप्रसाद बडूद्वारा संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तिमा उपयुक्त समयमा जिल्लास्तरमा पार्टी एकीकरण गर्ने समेत उल्लेख गरेको छ ।

नयाँ समाजवादी क्रान्तिको माध्यमबाट देशको विकासका लागि प्रगतिशील बामशक्ति एक हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । यो संगै एमाले र माओवादी केन्द्रको बाम गठबन्धनमा नयाँशक्ति पार्टी मिसिएको छ ।
रासस

प्रकाशित मिति : ७ कार्तिक २०७४, मंगलबार ००:००