१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापामा बाढीपीडितलाई प्रवासीले घर बनाइदिने




दमक
, १ कात्तिक । झापाको कमल गाउँपालिका १ को सराङपाडास्थित मिस्त्री बस्तीका बाढीपीडित १० परिवारलाई प्रवासी झापालीले घर बनाइदिने भएका छन् । अन्तरराष्ट्रिय झापाली समाजले प्रवासबाट संकलित रकमबाट त्यस क्षेत्रका बाढीपीडित १० वटा परिवारलाई घर बनाइदिने भएको हो । ती घर बनाउन समाजले ४५ लाखको परियोजना तयार पारेको छ ।

समाजका वरिष्ठ उपाध्यक्ष छत्र सुब्बाका अनुसार आगामी छ महिनाभित्रमा त्यस बस्तीका विपन्न १० परिवारलाई पक्की घर निर्माण गरिदिने तयारी गरिएको छ । कमल गाउँपालिकाको समन्वयमा ती क्षेत्रका बाढीपीडितलाई पक्की घर निर्माण गरिदिने तयारी थालिएको सुब्बा बताउछन् ।

गत साउनको अन्तिम सातातिर आएको बाढीका कारण मिस्त्री बस्तीका १० घरपरिवार विस्थापित भएका थिए । ती विस्थापित परिवार अस्थायी टहरामा बस्दै आएका छन् । विस्थापित बस्दै आएको तीनकट्ठा जमिन स्थानीय एक दाताले गाउँपालिकालाई दिएका छन् ।

सुब्बाका अनुसार त्यस्ता पक्की घरको संरचना क्रंक्रिटको तथा जस्ताको छानो भएको हुनेछ भने त्यसको लागत प्रत्येकको साढे तीनलाख लाग्ने समाजले लागत तयार गरेको छ । “समाजमा आबद्ध सबै देशमा रहेका झापाली प्रवासीसंग मिलेर त्यतिका घर बनाइदिन्छाैँ” सुब्बाले भने ।

समाजमा आबद्ध भएको हङकङ–झापा मञ्चले ‘विपन्नलाई घर’ कार्यक्रममा सघाउ पुर्याउन दुईवटा घरको खर्च उपलब्ध गराउनेछ । प्रवासमा बस्दै आएका झापालीबीच समन्वय गरी जिल्लाको सामाजिक क्षेत्रमा योगदान दिने उद्देश्यले दुई वर्षअघि मात्र सो समाज स्थापना भएको थियो ।

गत असोज २५ गते विर्तामोडमा विभिन्न १८ वटा मुलुकमा बस्दै आएका प्रवासी झापालीको सहभागितामा समाजको पहिलो महाधिवेशन सम्पन्न भएको थियो । त्यसअघि समाजले जिल्लाका ६०७ बाढीपीडित घरपरिवारलाई १२ लाखका विभिन्न राहत सामग्री वितरण गरेको समाजले जनाएको छ ।
रासस

प्रकाशित मिति : १ कार्तिक २०७४, बुधबार ००:००