१६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य राजमार्गका चार सडक मर्मत गरिँदै



 

कात्तिक २०, लमही । सडक डिभिजन कार्यालय दाङले मुख्य राजमार्गका सडक मर्मत गर्न थालेको छ । जीर्ण सडक मर्मतका लागि करीब तीन करोड बजेट छुट्याइएको छ ।

सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी दुर्गा गौतमका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको धानखोला देखि शिवखोला सम्म, राप्ती राजमार्ग अन्तर्गत लमहीको अमिलिया देखि सल्यानको चोरखोला सम्म, सोही सडक खण्डको चोरखोला देखि खौला सम्म तथा लमही–तुलसीपुर खडकअन्तर्गत मोतीपुर कलभर्ट निर्माणका लागि रकम विनियोजन गरिएको छ ।

“सडकमा खाल्डाखुल्डी हुँदा यात्रुलाई सास्ती हुने गरेको छ,” गौतमले भने । सो रकमले खाल्डाखुल्डी पुर्ने, पर्खाल बनाउने तथा नाला निर्माण गरिनेछ ।

धानखोला देखि शिवखोला सम्मको सडक मर्मत गर्न ९२ लाख बजेट छुट्याइएको छ । राजमार्गको दाङ खण्डमा पर्ने ७७ किमी सडकमा परेका खाल्डाखुल्डी, नाला निर्माण तथा पर्खाल निर्माण गर्ने जिम्मा शान्ति कन्सट्रक्सनले पाएको छ ।

यस्तै राप्ती राजमार्गको लमहीदेखि सल्यानको चोरडाँडासम्मको सडक मर्मतका लागि ५६ लाख बजेट छुट्याइएको गौतमले बताए । झण्डै १२५ किमी सडकमा पर्ने खाल्डाखुल्डी, पर्खाल र नाला मर्मत गरिनेछ ।

यस्तै राप्ती राजमार्गको सल्यानको चोरडाँडा देखि रुकुमको खौला सम्मको ९० किमी सडक मर्मतका लागि ७० लाख बजेट छुट्याइएको छ । गत वर्षको वर्षातमा भत्किएको लमही–तुलसीपुर सडक खण्डको मोतिपुरमा कलभर्ट निर्माण गरिनेछ । सो कार्यका लागि ६७ लाख बजेट छुट्याइएको छ ।
रासस

प्रकाशित मिति : २० कार्तिक २०७५, मंगलबार ००:००