विरानगर, ३० असोज । विराटनगर महानगरपालिकाले नगरभित्र छोडिएका छाडा चौपाया नियन्त्रण अभियान शुरु गरेको छ । सुरक्षित सडक सवारी सञ्चालनका लागि विशेष अभियान सञ्चालान गरी नगरभित्र छाडा छोडिएका चौपाया नगर रक्षकद्वारा नियन्त्रणमा लिने गरिएको छ ।
असोज ४ गतेदेखि अभियान सञ्चालन गरेर छाडा चौपाया नियन्त्रणमा लिने गरेको महानगरपालिकाले जनाएको छ । महानगरभित्र गाई, बाख्रा, सुंगुर र साँडे छाडा छोडने गरिएको छ । विराटनगर महानगरपालिकाको साँघुरो सडकमा सिटी रिक्सा, रिक्सा तथा अन्य सवारीसाधन सञ्चालनमा छाडा चौपायाका कारणा बाधा उत्पन्न भई सडक जाम हुने गरेको छ ।
विगतमा महानगर प्रतिनिधिविहीन भएको अवस्थामा छाडा चौपाया खुल्ला छाड्ने प्रवृत्तिमा वृद्धि भएको कारण नगरमा सवारी दुर्घटना बढेको थियो । यसरी नियन्त्रणमा लिएका छाडा चौपायालाई वडा समितिको सिफारिसमा खसीबाख्रालाई २५० तथा गाईवस्तुलाई ५०० जरिवाना लिएर छाड्ने गरिएको छ भने पटकेलाई १ हजार जरिवाना लिने गरेको महानगरपालिकाले जनाएको छ ।
हालसम्म छाडा छोडिएका ३२ वटा गाई बाछा तथा २८ वटा खसी बाख्रा नियन्त्रणमा लिएको महानगरपालिकाका नगर सहायक निरीक्षक रेवत दुलालले बताए । महानगरापलिकाको यस अभियानका कारण छाडा पशु छोड्ने कार्यमा कमी आएको छ ।
रासस
प्रतिक्रिया