७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी केन्द्रले बुझायो समानुपातिक सूची



 

काठमाडौँ, २९ असोज । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश सभाका लागि समानुपातिक निर्वाचन प्रणालीका लागि उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ ।

माओवादी केन्द्रका नेताहरु आयोगको कार्यालय पुगेर सूची दर्ता गरेका हुन् । प्रवक्ता पम्फा भुसालले आयोगले तोकेको समयसीमा ५ बजेभित्र नै सूची दर्ता गरेको जानकारी दिइन् ।

“संविधानअनुसार सबै वर्ग तथा क्षेत्रको प्रतिनिधित्व हुने गरी सूची बुझाइएको छ” उनले भनिन्, “संविधान कार्यान्वयनको महत्वपूर्ण दिशामा मुलुक प्रवेश गरेको छ । निर्वाचन सम्पन्न गराउने दायित्व पूरा गराउन सबै वर्ग तथा क्षेत्रको उत्तिकै सहयोग र सद्भाव जरुरी छ ।”

प्रतिनिधिसभाको कुल २७५ स्थानमध्ये समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सांसद चयन हुनेछन् । यस्तै सातवटै प्रदेशमा प्रदेशसभाका लागि २२० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था रहेको छ ।

संघीय संसद्को समानुपातिक सूचीमा खस आर्य पुरुष र महिला १७—१७, जनजाति पुरुष र महिला १६—१६, थारू महिला ४ र पुरुष ३, दलित महिला ८ र पुरुष ७, मधेशी महिला ९ र पुरुष ८ एवं मुस्लिम महिला ३ र पुरुष २ को सूची दर्ता गरिएको उनले जानकारी दिइन् ।

संघीय संसद्मा जम्मा महिला ५७ र पुरुष ५३ को सूची बुझाइएको प्रवक्ता भुसालले जानकारी दिइन् ।
रासस

प्रकाशित मिति : २९ आश्विन २०७४, आइतबार ००:००