१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनसरी कांग्रेस द्वारा उम्मेदवारहरूको नाम सिफारिस




इटहरी
, २४ असोज । नेपाली कांग्रेस सुनसरीले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सम्भावित उम्मेदवारका आकाङ्क्षीहरूको नाम सिफारिसको काम पूरा भएको जानकारी दिएको छ ।

आगामी मंसिर १० र २१ गते प्रतिनिधि सभा (सङ्घ) र प्रदेशसभाका लागि हुन गइरहेको निर्वाचनका लागि मिति तोकिसकेको अवस्थामा निर्वाचन आयोगको निर्वाचनसम्बन्धी कार्यतालिकाअनुसार प्रत्यक्ष र समानुपातिकतर्फ १२ पदका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको नेपाली कांग्रेसले जानकारी दिएको छ ।

पार्टीभित्र उम्मेदवार बन्ने आकाङ्क्षीहरु ज्यादा देखिएपछि नेपाली कांग्रेस सुनसरीले २४१ जनाको नाम केन्द्रमा पठाएको पार्टी सभापति राजीव कोइरालाले जानकारी दिए । उम्मेदवार बन्ने आकाङ्क्षी धेरै रहेको तथा अन्य तालमेल गर्न सकिने राजनीतिक दलसंग समेत सहकार्य हुन सक्ने सभ्भावना रहेकाले धेरै जनाको नाम सिफारिश गर्नु परेको हो ।

कांग्रेस सुनसरीले क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा निर्वाचनका लागि मन्त्री मीनकुमार विश्वकर्मा, लक्ष्मी खतिवडा र विनोद राईको नाम सिफारिश गरेको छ । क्षेत्र नं २ बाट पार्टी सभापति राजीव कोइराला, सांसद सीताराम मेहता, राजीव ढुंगाना, हरि सापकोटा, बद्रीनारायण चौधरी, रामबहादुर बस्नेत र प्रतिनारायण चौधरीको नाम सिफारिस गरिएको बताएको छ ।

यसैगरी क्षेत्र नं ३ बाट पार्टी सभापति राजीव कोइरालासहित हरिप्रसाद सापकोटा, सत्यनारायण गच्छदार, कपिलकुमार भण्डारी सिफारिस सूचीमा परेका छन् । त्यस्तै प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नं ४ का लागि सिफारिस भएकामा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, रामबहादुर बस्नेत, जमिल अख्तर, डिल्ली कार्की र कुञ्जिलाल यादवको नाम सिफारिसमा परेको सभापति राजीव कोइरालाले जानकारी दिए ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छनोटमा केन्द्रको निर्णय सबैलाई मान्य हुने गरी सबै आकाङ्क्षीको मनसाय बुझेर नामावली केन्द्रमा पठाइएको पार्टी सभापति राजीव कोइरालाको भनाइ रहेको छ । पार्टीले प्रत्यक्षतर्फ उम्मेदवार हुनेदेखि समानुपातिक उम्मेदवार नेताहरुको समेत नाम सिफारिस गरेको बताएको छ ।
रासस

प्रकाशित मिति : २४ आश्विन २०७४, मंगलबार ००:००