२०, असोज । काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि चुनावी सरगर्मी बढेको छ । जिल्लाका दलहरू सहित अन्य दल चुनावको सम्भावित परिणामका लागि छलफल र बैठकमा व्यस्त छन् ।
कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरिसकेको छ । त्यसै गरि एमाले र माओवादी केन्द्रले दुवै निर्वाचनका लागि आन्तरिक बैठक जारी रहेको जनाएको छ ।
नेपाली कांग्रेसका उपाध्यक्ष अच्युत पौडेलले प्रतिनिधिसभाका लागि क्षेत्र नं १ बाट हालका सांसद तीर्थ लामाको नाम सर्वसम्मत सिफारिस भएको बताए । त्यस्तै क्षेत्र नं २ बाट कांग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्य, सांसद कञ्चनचन्द्र वादे, प्रचण्डमान प्रधान र डा. राम थपलियाको नाम सिफारिस भएको छ ।
त्यस्तै प्रदेशसभाका लागि जिल्लाको क्षेत्र नं १ बाट सिवी लामा र दिनेश लामाको नाम सिफारिस भएको छ । क्षेत्र नं २ बाट इन्द्रमणि अधिकारी, तीर्थबहादुर पसखल, मधुकर खनाललगायतको नाम सिफारिस भएको छ । क्षेत्र नं ३ बाट कञ्चनचन्द्र वादे, रामकुमार मुल्मी, प्रकाश थापाको नाम सिफारिस भएको छ । क्षेत्र नं ४ बाट अच्युतप्रसाद पौडेल, सुन्दर आचार्य, बेलबहादुर लामाको नाम सिफारिस भएको छ ।
यता एमालेले प्रतिनिधिसभामा क्षेत्र नं १ बाट रामहरि सुवेदी, नारायण पाण्डे, सङ्ग्रामजित लामा र पवित्रा भुर्तेलको नाम सिफारिस गरेको छ भने प्रदेशसभाको क्षेत्र नं १ बाट मुकुन्द गाैतम, ईश्वरी पौडेल, दिलीप तामाङ, नवीना लामा, दीपक गौतमलगायतको नाम सिफारिस गरेको छ ।
क्षेत्र नं २ बाट कुलचन्द्र अधिकारी, केशव बडाल, कृष्णचन्द्र आचार्य, विष्णुप्रसाद खनाल, विदुर हुमागाईंलगायतको नाम सिफारिस भएको छ । क्षेत्र नं ४ बाट वसुन्धरा हुमागाईं, कुमार थापा, कमल तिमल्सिना, हरिदेव गिरी, हरिशरण दाहाललगायतको नाम सिफारिस भएको छ । तर क्षेत्र नं ३ बाट कसैको नाम सिफारिस नभएको एमालेले जनाएको छ ।
माओवादी केन्द्रले बैठक जारी रहेको जनाउँदै केन्द्रको निर्णय पर्खेर बसेको जनाएको छ । पार्टीका पोलिटब्युरो सदस्य दीनानाथ गौतमले निर्वाचनका लागि तयारी भएको उल्लेख गर्दै एमालेसँगको छलफल जारी रहेको बताए । रासस
प्रतिक्रिया