९ बैशाख २०८१, आइतबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संघ र प्रदेशका लागि कांग्रेस र माओवादीले छाने उम्मेदवार




तेह्रथुम
, ११ असोज । दलहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न थालेका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संघीय र प्रादेशिक निर्वाचनमा जिल्लाबाट आकांक्षी उम्मेदवारको नाम चयन गरी सिफारिस गरेका हुन् । नेकपा एमाले लगायत दलले समेत आन्तरिक तयारी थालेका छन् ।

कांग्रेस र माओवादी केन्द्रले संघीय निर्वाचनमा प्रत्यक्षतर्फ सर्वसम्मत उम्मेदवार चयन गरेका छन् । कांग्रेसले केन्द्रीय सदस्य तथा राज्यमन्त्री सीता गुरुङलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

संघको निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसले पूर्वसांसद तुलसी सुब्बा, सांसद गणेश विमली, पूर्वजिल्ला सभापति रामनारायण ढुंगाना, गुरुप्रसाद भट्टराई र राज्यप्रसाद लिम्बूको नाम सिफारिस गरेको छ । यस्तै प्रादेशिक निर्वाचनमा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ जिल्ला सभापति गोविन्द ढुंगानालाई सिफारिस गरिएको छ ।

यस्तै समानुपातिकतर्फ अर्जुन तुम्बाहाम्फे, अर्जुन माबोहाङ, सन्तोष सुब्बा, विपीन सुब्बा, टेकराज तिगेलालगायत नेताको नाम सिफारिस भएको छ । क्षेत्र नं २ मा प्रत्यक्षतर्फ नारायणकुमार इङ्नाम, बालकुमार गुरुङ र उत्तमसिंह थाम्देनको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ केशव भेटुवाल, गणेश घिमिरे, भीष्म थपलिया, हरिप्रसाद डाँगी, हेमन्त गुरुङ, केदार गहतराज र जमुना बर्देवा लगायतको नाम जिल्लाबाट सिफारिस भएको छ ।

माओवादी केन्द्रले भने संघीय निर्वाचनमा प्रत्यक्षतर्फ केन्द्रीय सल्लाहकार विजय सम्बाहाम्फेलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । समानुपातिकतर्फ केन्द्रीय पोलिटब्यूरो सदस्य तथा जिल्ला इञ्चार्ज दुर्गाप्रसाद चापागाईं र पूर्वविधायक फुर्वी शेर्पाको नाम सिफारिस भएको छ । प्रदेशतर्फ क्षेत्र नं १ मा इन्द्रबहादुर इम्सङ र गणेशकुमार सेनेको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्फ दिलकुमारी लिम्बू र तेजेन्द्र कुरुम्बाङ सिफारिस गरिएका छन् । यस्तै क्षेत्र नं २ मा प्रत्यक्षतर्फ पोलिटब्यूरो सदस्य सुशीला कन्दङ्वा, केन्द्रीय सल्लाहकार भीमप्रसाद कन्दङ्वा र जिल्ला सहसंयोजक ताराप्रसाद भट्टराईको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ तेजमान कन्दङ्वा, बलिराज इङ्नाम र चूडामणि बरालको नाम पठाइएको माओवादी केन्द्रले जनाएको छ ।

एमाले सहितका दलले पनि पार्टीभित्र आन्तरिक रुपमा उम्मेदवारको तयारी गरिरहेको बुझिएको छ । दशैँलगत्तै पार्टीले एउटा मापदण्ड बनाएर उम्मेदवार चयन गर्ने एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारीले बताए । प्रदेशको निर्वाचनमा क्षेत्र नं १ मा म्याङलुङ र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका पर्छन् । क्षेत्र नं २ मा आठराई, फेदाप र मेन्छ्यायेम गाउँपालिका पर्छन् ।

यसअघि संविधानसभाको निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको जिल्लामा २०७० मा एमाले र २०६४ मा कांग्रेसले जितेका थिए ।
रासस

प्रकाशित मिति : ११ आश्विन २०७४, बुधबार ००:००