१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्तरीका पाँच महिला स्थानीय तहका शीर्षपदमा प्रतिस्पर्धा गर्दै




धनवीर महतो

महोत्तरी, ३० भदौ ।

स्थानीय तहको निर्वाचनका लागि प्रमुख पदमा महोत्तरीबाट पाँचजना महिला प्रतिस्पर्धामा उत्रेका छन् ।

आगामी असोज २ गते हुने निर्वाचनका लागि नेकपा एमालेले सम्सी गाउँपालिकाको प्रमुख पदमा मीनाक्षीकुमारी साह, संघीय समाजवादी फोरम नेपालले गौशाला नगरपालिकामा रामकुमारीदेवी महतो, बहुजन शक्ति पार्टीले गौशाला नगरपालिकाको प्रमुखको लागि फूलकुमारी सहनीलाई प्रमुख पदका लागि चुनावी मैदानमा उतारेका छन् ।

त्यस्तै, एकडारा गाउँपालिका प्रमुखमा सीतादेवी र औरही नगरपालिकामा बहुजन शक्ति पार्टीबाट तारादेवीले उम्मेदवारी दिएका छन् । यिनीहरु सबै मधेशी मूलका उम्मेदवार रहेका छन् भने जिल्लाको उत्तरवर्ती क्षेत्रबाट कुनै पनि महिला स्थानीय तहको नेतृत्वका लागि अगाडि बढ्न सकेका छैनन् ।

जिल्लामा रहेका अन्य दलले चुनावी एजेण्डामा महिलालाई समानुपातिक एवं समावेशीको नारा दिएर चुनावी एजेण्डा बनाएता पनि व्यवहारमा उतार्न सकेका छैनन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राजपा नेपाल लगायतका दलहरुले महिलालाई उपप्रमुख या उपाध्यक्षमा सीमित पारेका छन् । पछिल्लो समयमा चुनाव खर्चिलो भएको भन्दै आर्थिक स्थिति कमजोर भएका महिला, दलित, जनजाति समुदायका महिला हारिने डरले चुनावी मैदानमा आउन नसकेको एमाले नेत्री दुर्गा दाहाल बताउछिन् ।

हामीलाई अवसर नदिने तर महिलालाई होच्याउने कारणले यहाँका महिला अगाडि बढ्न नसकेको पूर्व सांसद एवं माओवादी विचारधाराकी नेत्री बुधनीदेवी महतोले बताइन् । देशका उच्च तहमा महिलाले कार्यभार सञ्चालनमा सफलता हासिल गरेको भन्दै अब हरेक महिलालाई व्यवहारमा लागू गरेमात्र देशमा समावेशीताको नारा यथार्थमा परिणत हुने महतोले धारणा राखिन् ।

पितृवादी सोचाइका कारण हाम्रो समुदायमा महिलालाई अगाडि बढ्नका लागि आफ्ना सहकर्मीले नै अगाडि बढ्नबाट रोक लगाउँदै आएको माओवादी केन्द्रकी नेत्री शशीकला दाहालले प्रतिक्रिया दिइन् । घर राम्ररी चलाउन जान्ने महिलाले स्थानीय तह पनि सञ्चालन गर्नमा कुनै पनि कसर बाँकी नछाड्ने स्थानीय नरेन्द्र महतोले बताइन् ।

महिलालाई अवसरको खाँचो छ, अवसर पाए मधेशी समुदायका महिला जे पनि गर्न सक्ने यथार्थ रहेको अनेक उदाहरण दिँदै महतोले भनिन्, हरेक निकायमा महिला नेतृत्व आवश्यक रहेको छ ।
रासस

प्रकाशित मिति : ३० भाद्र २०७४, शुक्रबार ००:००