१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनप्रतिनिधिकाे पहलमा गाउँमै स्वास्थ्य शिविर सञ्चालन




डडेल्धुरा
, २६ भदौ । डडेल्धुराको भागेश्वर गाउँपालिकामा भाइरलजन्य रोगको संक्रमण बढेपछि गाउँपालिकाले आइतबार देखि स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बर्षाका कारण बाटो बिग्रिएका कारण गाडी चल्न नसकेपछि भागेश्वर गाउँपालिकाको वडा नं ५ का विभिन्न ठाउँमा भाइरलका बिरामीको सहज उपचारका लागि गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । भागेश्वर गाउँपालिकाको आयोजनामा वडा नं ५ को चौगाउँमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्टको विशेष पहलमा सञ्चालन गरिएको हो । ग्रामीण क्षेत्रबाट जनताले माग गरेपछि निःशुल्क शिविरको आयोजना गरिएको भागेश्वर गाउँपालिकाका अहेव मदन भाटले बताए ।

शिविरमा भाइरलजन्य रोगका साथै दम, दाँत लगायतका बिरामीको समेत उपचार गरिएको छ । दुर्गम गाउँका सर्वसाधारणको स्वास्थ्य सेवा दिनका लागि उनीहरुको सहजताका लागि गाउँपालिकाले गाउँमै शिविरको आयोजना गरेको भागेश्वर गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले जानकारी दिइन् । गाउँमै उपचार गर्न पाउँदा बिरामी खुशी भएका छन् ।

उक्त गाउँबाट उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्न छ घण्टा लाग्ने भएकाले भाइरलका सबै बिरामीले उपचार गर्न पाएका थिएनन् ।

योभन्दा पहिला अनुमानका भरमा औषधि खाने गरेको स्थानीय जडीबुटीका भरमा बाँचिरहेका मानिसले दक्ष चिकित्सकबाट उपचार पाउँदा खुशी लागेको भागेश्वरका दानबहादुर भाटले बताए ।

गाउँस्तरमा स्वास्थ्य शिविर सञ्चालन भएको यो नै पहिलोपटक भएकाले जनप्रतिनिधि भएको महसुस गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
रासस

प्रकाशित मिति : २६ भाद्र २०७४, सोमबार ००:००