१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटन प्रवर्द्धनका लागि स्थानीयवासी एकजुट




तेह्रथुम
, १८ भदौ । तेह्रथुमको सदरमुकाम म्याङलुङ नजिकै रहेको दशकते सामुदायिक वनमा रहेको ऐतिहासिक टुङ्ना गुफा र मन्दिर संरक्षणका लागि स्थानीयवासी जुटेका छन् । गुफा तथा मन्दिरको धार्मिक महत्वलाई प्रचारमा ल्याएर पर्यटकीयस्थलका रुपमा विकास गर्न उनीहरुले गुफा तथा मन्दिर व्यवस्थापन समिति पनि गठन गरेका छन् ।

उक्त समितिलाई आकर्षक पार्क र बगैँचासमेत निर्माण गरेर प्रचारमा ल्याउन जिम्मेवारी दिइएको छ । सदरमुकाम नजिकै भएकाले गुफा हेर्न, मन्दिरमा दर्शन गर्न र पार्क अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयवासीको बुझाइ छ ।

शनिबार बिहान बसेको स्थानीयवासीको भेलाले व्यवस्थापन समितिको अध्यक्षमा पदम तुम्बाहाम्फे, उपाध्यक्षमा कृष्णबहादुर कटुवाल, सचिवमा भगिश्वर लिम्बू र कोषाध्यक्षमा रामबहादुर तुम्बाहाम्फेलाई चयन गरेको छ । समितिको सदस्यमा देवीबहादुर श्रेष्ठ, मानबहादुर लिम्बू र लैनबहादुर तुम्बाहाम्फे छन् ।

नवगठित समितिले यहाँ रहेको ‘केमुक’ अर्थात् ‘टुङ्ना’ गुफा, दशकते देवीथान, महादेव हाङसाम माङ्हिम लगायत ऐतिहासिक धार्मिक क्षेत्रको सरसफाइ, संरक्षण र व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाइ काम गर्ने अध्यक्ष तुम्बाहाम्फेले बताए ।

सदरमुकाम आएका मानिसलाई यहाँसम्म पुर्याउन र यहाँको धार्मिक तथा ऐतिहासिकताबारे जानकारी दिँदै ती सम्पदाको पनि संरक्षण गर्न सकिने भएकाले स्थानीयवासी एकजुट भएको समितिका सचिव भगिश्वर लिम्बूले बताए । यसअघि सो गुफा तथा मन्दिर परिसरसम्म पुग्ने गोरेटो बाटो नेपाली सेनाले निर्माण गरिदिएको थियो ।

यसैबीच गुफामा प्रवेश गर्नका लागि असजिलो रहेको ठाउँमा म्याङलुङका व्यवसायी गोकुल सुवेदीले फलामको भर्याङ निःशुल्क उपलब्ध गराउने भएका छन् । गुफाको संरक्षण र व्यवस्थापन गरी पर्यटकीय स्थल बनाउने अभियानमा स्थानीयवासी जुटेको थाहा पाएपछि गुफा प्रवेशका लागि सहज होस् भनेर भर्याङ उपलब्ध गराएको व्यवसायी सुवेदीले बताए ।

खाम्लालुङको झाँक्री गुफा ओझेलमा
तेह्रथुमको आठराई गाउँपालिका– २, खाम्लालुङमा अवस्थित झाँक्री गुफा प्रशस्तै पर्यटकीय सम्भावना भए पनि ओझेलमा परेको छ । गुफाको प्रचारप्रसार र पूर्वाधार विकासमा सम्बन्धित निकायको ध्यान पुर्याउन नसक्दा उक्त गुफा ओझेलमा परेको हो ।

गुफासम्म पुग्नका लागि सडक बनाइए पनि सवारी साधन सञ्चालन योग्य भइसकेको छैन । कात्तिके सामुदायिक वनभित्र रहेको गुफा परिसरलाई ‘कात्तिके पर्यटन क्षेत्र’का रूपमा विकास गर्ने ध्येयले स्थानीयवासीले पहल थालेका छन् ।

परापूर्वकालमा वनझाँक्री यही गुफामा बस्ने भएकाले यसलाई झाँक्री गुफा भनिएको स्थानीयवासीको भनाइ छ । वनझाँक्रीले यस गुफामा राखेर बनाएका धामीझाँक्री र बूढीबजुहरु अझै गाउँमा रहेको बताइन्छ ।

कात्तिके सामुदायिक वन उपभोक्ता समितिकै पहलमा गुफामा सिँढी निर्माण, गुफा नजिकै रहेको पोखरी सरसफाइलगायत काम गरिएको अध्यक्ष गोपी ढुंगानाले बताए । उक्त कार्यका लागि जिविसले २० लाख बजेट उपलब्ध गराएको र स्थानीयवासीले चार लाख २३ हजार १८७ बराबरको श्रमदान गरेर कूल २४ लाख २३ हजार १८७ खर्च भएको बताइएको छ ।

“गुफाको प्रवर्द्धनका लागि घरवास, भ्यु–टावर, बिजुलीको व्यवस्थालगायत पूर्वाधार विकास गर्ने लक्ष्य लिएका छौँ, बजेटको अभाव छ”– अध्यक्ष ढुंगानाले भने । सो गुफा पुग्न आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजारदेखि एक घण्टा पैदल हिँड्नुपर्छ । गुफाको संरक्षणको प्रयास थालिएपछि दैनिक ३०–४० आन्तरिक पर्यटक अवलोकनका लागि आउन थालेको स्थानीयवासी सुभास गौतमले बताए ।

गुफा परिसरमा पूर्वाधार विकास गरेर प्रचारप्रसार गर्नसके यस क्षेत्रकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नसक्ने उनले जानकारी दिए । वरिपरि विभिन्न प्रजातिका फूलका साथै खुला चौर फाँटमा रहेको यस क्षेत्रका छुट्टै विशेषता छ । समुद्र सतहबाट दुई हजार २०० मिटरको उच्चाइमा रहेको गुफामा बादलले लुकामारी खेलिरहन्छ । गुफाको परिसरबाट छिनमै आकाश उघ्रिन्छ, छिनमै बादलले छोप्ने गर्छ ।

गुफाको प्रवेशद्वारमा सेती देवीको मन्दिर छ । चाडपर्वमा गुफाबाट नौमती बाजाका धुन आउने प्रमुख विशेषता रहेको अध्यक्ष ढुंगानाले बताए । चार तला रहेको उक्त गुफाको दुई तहसम्म सजिलै पुग्न सकिन्छ । पहिलो र अन्तिम तलाको दोस्रो र तेस्रो तलाबाट अवलोकन गर्न सकिन्छ । गुफाको संरक्षण र प्रचारप्रसारका लागि काम थालिने आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले बताए ।
रासस

प्रकाशित मिति : १८ भाद्र २०७४, आइतबार ००:००