८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सम्तरीका बाढीपीडितलाई निःशुल्क उपचार




राजविराज
, १८ भदौ । सप्तरीको पश्चिमी भेगका ८५० जना बाढीपीडितलाई शनिबार निःशुल्क स्वास्थ्योपचार गरिएको छ । सप्तरीको डाकनेश्वरी नगरपालिका– ६ स्थित जनता मावि कटैया फत्तेपुरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगबाट पीडित बालबालिका, वृद्धवृद्धासहित ८५० जना बाढीपीडितलाई निःशुल्क उपचार गरिएको स्थानीयवासी सन्दीप सदाले जानकारी दिए ।

एलायन्स फोर रिलिफको सहयोगमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएको विशेषज्ञ डाक्टरको एक टोलीले त्यहाँ रहेका बाढीपीडितलाई स्वास्थ्य उपचारपछि निःशुल्क औषधि वितरण गरेको हो ।

प्रतिष्ठानबाट आएको टोलीले आँखा, कान, नाक, छाला, दाँत र हाड जोर्नीसम्बन्धी रोगको उपचार गरेको सोही कार्यक्रममा सहभागी महेन्द्र सदाले जानकारी दिए । यस्तै एलायन्स फर रिलिफको सहयोग र सन्दीप सदाको पहलमा त्यहाँ रहेका ५० जना बाढीपीडितलाई सोलार टर्च लाइट र २०० जनालाई झुल वितरणसमेत गरिएको छ ।

बाढीपीडितलाई राहत वितरण
यसैगरी सप्तरीमा हालै आएको बाढीबाट विस्थापित एवं पीडित भएका परिवारलाई विभिन्न सङ्घसंस्थाले शनिबार राहत वितरण गरेको छ । वाइसिएल नेपाल केन्द्रीय समितिले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका ३०० बाढीपीडित परिवारलाई राहत वितरण गरेको हो ।

वाइसिएल केन्द्रीय समिति र जनप्रगतिशील मञ्चले संकलन गरेको राहत प्रत्येक बाढीपीडित परिवारलाई १५ किलो चामल, एक किलो दाल, आधा लिटर खाने तेल र एक किलोका दरले नून वितरण गरिएको वाइसिएल सप्तरी संयोजक विनोदकुमार यादवले जानकारी दिए ।

यस्तै बाढीका कारण विस्थापित भएका सकरपुराका बाढीपीडितलाई सुनचाँदी व्यवसायी सेवा समितिले राहत वितरण गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको सकरपुरा १ र २ का करिब ७५ जना बाढीपीडित परिवारलाई प्रतिपरिवार एक थान त्रिपाल, एक थान झुल, खानेपानी शुद्धीकरण गर्ने पियुसलगायत अन्य सामग्री वितरण गरेको सो समितिले जनाएको छ ।

त्यस्तै हनुमाननगर कंकालनी नगरपालिका– ९ स्थित नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जोगिनियाले २०० बाढीपीडित सदस्यलाई राहत वितरण गरेको छ ।

सो संस्थाले त्यहाँ रहेका आफ्नो ग्राहक सदस्यलाई २५ किलो चामल, एक किलो दाल, एक लिटर खाने तेल, आधा दर्जन साबुनलगायतका सामग्री वितरण गरेको शाखाका प्रबन्धक अंकितकुमार यादवले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १८ भाद्र २०७४, आइतबार ००:००