गौशाला, १३ भदौ । तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा हुने स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालबाट महोत्तरी जलेश्वर नगरपालिकाको प्रमुख पदमा नौ जना आकाँक्षी देखिएका छन् ।
पार्टी चुनावमा जाने निर्णय गरेलगत्तै महोत्तरी जिल्लामा पार्टीले उम्मेदवारको टुंगो लगाउन खटाएको केन्द्रीय पर्यवेक्षक गोविन्द चौधरीका अनुसार जलेश्वरमा सर्वसम्मतिको वातावरण बन्न नसकेपछि प्रमुख पदमा नौ जना सम्भाव्य उम्मेदवारको नाम आएको छ ।
राजपा नेपालबाट नगरप्रमुख पदका सम्भाव्य उम्मेदवारमा सुशील शर्मा, सुरेश पाण्डे, सुरेशप्रसाद सिंह, सुरेन्द्रप्रसाद सिंह, दीपुकुमार साह, रामशंकर मिश्र, रोशन महासेठ, रामसिकिल चौधरी र जयरुद्र झा रहेको केन्द्रीय पर्यवेक्षक चौधरीले बताए ।
त्यस्तै उमप्रमुखमा पनि सहमतिको वातावरण बन्न नसकेपछि पाँच जनाको नाम आएको पर्यवेक्षक चौधरीले बताए । उपप्रमुखका लागि गुन्जनकुमारी राय, मुनचुन देवी महतो, अनिताकुमारी साह, प्रान्ती पाठक र कलिमा खातुनको नाम आएको उनले बताए ।
राजपा नेपालको विगत तीन दिनदेखि पटकपटक जलेश्वरमा बसेको बैठकले सर्वसम्मतिको वातावरण तयार गर्न नसक्दा जलेश्वरका प्रमुखमा नौ जना र उपप्रमुखमा पाँच जना सम्भाव्य उम्मेदवारको नाम अघि आएको छ ।
यसैबीच सो पार्टीको केन्द्रीय समितिले महोत्तरीमा सर्वसम्मतिको वातावरण बनाउन डा विजय सिंह, श्रीमती सुरिता साह, सुनिल रोहित, रानी तिवारी, जैनुल राईन र श्याम यादवसहितका छ सदस्य उच्चस्तरीय समिति पठाएको छ ।
सो उच्चस्तरीय समितिले जलेश्वरका प्रमुख र उपप्रमुखमा सर्वसम्मतिका लागि प्रयास गरिरहेका छन् । तर यस उच्चस्तरीय समितिले पनि सर्वसम्मती रुपमा उम्मेदवारको नाम टुंगो लगाउन नसकेपछि केन्द्रीय समितिले नै यहाँको प्रमुख र उपप्रमुखको नाम टुंगो लगाउने केन्द्रीय पर्यवेक्षक गोविन्द चौधरीले बताए ।
दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा राजपाका लागि जलेश्वर नगरपालिकामा नै उम्मेदवार चयन गर्न मुख्य समस्या भएको छ भने अन्य नगरपालिका र गाउँपालिकामा त्यति खासै समस्या नरहेको सो दलका नेताहरु बताउँछन् ।
रासस
प्रतिक्रिया