१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दलीय स्वार्थ र पूर्वाग्रहबाट मुक्त हुन सुझाव




भद्रपुर
, ११ भदौ । दलीय स्वार्थभन्दा माथि उठी पूर्वाग्रहबाट मुक्त भएर बिना भेदभाव काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई झापाका राजनीतिक दलले सुझाव दिएका छन् ।

संवाद समूह झापाको संयोजनमा आइतबार बिर्तामोडमा भएको छलफलमा राजनीतिक दलका प्रमुखले जनप्रतिनिधिलाई स्थानीय सरकार र जनताको अभिभावकका रुपमा साझा भएर काम गर्न सुझाव दिएका हुन् ।

‘स्थानीय तह सञ्चालनका चुनौती र समाधानमा राजनीतिक दलको सुझाव’ विषयमा संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले सहजीकरण गरेको छलफलमा जनप्रतिनिधि दलीय सोच र घेराबाट माथि नउठ्दा कतिपय ठाउँमा विवाद र द्वन्द्वको सम्भावना बढेको बताउँदै पार्टीका नेताले त्यस्तो अवस्था आउन नदिन समयमै सचेत बन्न आग्रह गरेका छन् ।

खासगरी प्रकोपपीडितका समस्याप्रति संवेदनशील बन्दै राहत वितरण, विकास र समृद्धिका लागि अग्रसर हुन जनप्रतिनिधिलाई जिल्लास्थित राजनीतिक दलले सुझाएका छन् । त्यस्तै स्थानीय तहको सञ्चालनका लागि आवश्यक स्थानीय तह सञ्चालन योजना तथा कार्यविधि, संघीय र प्रदेश कानून यथाशीघ्र निर्माणका लागि राजनीतिक दलले सरकारसमक्ष माग गरेका छन् ।

नेपाली कांग्रेसका सभापति उद्वव थापा, नेकपा एमाले जिल्ला अध्यक्ष चिन्तन पाठक, नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज झलकसिंह दर्लामी, राष्ट्रिय प्रजातन्त्र पार्टिका जिल्ला सचिव केशवप्रसाद ओझा, राष्ट्रिय जनता पार्टीका जिल्ला अध्यक्ष सूर्यनारायण गणेश, नयाँ शक्ति पार्टीका जिल्ला अध्यक्ष कुमार क्षेत्री, संघीय समाजवादी फोरम नेपालका जिल्ला उपाध्यक्ष संगीता रौनियार, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष पर्शुराम मगर संघीय लिम्बूवान मञ्चका जिल्ला अध्यक्ष धनबहादुर पन्धाक सुब्बाले जनप्रतिनिधिलाई साझा भएर जनहितको काम गर्न सुझाव दिएका हुन् ।
रासस

प्रकाशित मिति : ११ भाद्र २०७४, आइतबार ००:००