१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढी प्रभावित मैनाकडेरीका ६ सय घरपरिवारलाई राहत वितरण




राजविराज
, ६ भदौ । बाढीबाट अति प्रभावित मैनाकडेरीका छ सय घरपरिवारलाई डिजिकन कन्सल्टेण्ट प्रालि काठमाडौँले सोमबार राहत वितरण गरेको छ ।

संस्थाले चाउचाउ, चिउरा, बिस्कुट, पानी, दालमोठलगायत सामग्री वितरण गरेको बताइएको छ । बाढीका कारण सडक बिग्रेकाले मैनाकडेरीको बस्तीसम्म सवारी साधन पुग्न सहज नभएका कारण काठमाडौँबाट ल्याइएको राहत सामग्री बयल गाडामा राखेर तथा टाउकामा बोकेर बाढीपीडितलाई दिइएको प्रालिका प्रबन्ध निर्देशक रामउदार यादवले जानकारी दिए ।

यस्तै मोहुली नदीको बाढीबाट प्रभावित हनुमाननगर कंकालनी नगरपालिका–२ स्थित नहरमा पाल टाँगेर बस्दैआएका सकरदहीका ४० परिवारलाई समेत राहत उपलब्ध गराइएको बताएका छन् ।
करिब दुई साता अगाडि अविरल वर्षासंगै आएको बाढीका कारण सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिकाको सकरपुरा बस्तीमा घरविहीन भएका बाढीपिडितका लागि पनि एक सामाजिक संस्थाले राहत वितरण गरेको छ ।

भइरोचना फाउण्डेशन काठमाडौँले सो ठाउँका ९८२ घरपरिवारका लागि तीन हजार केजी चामल, दुई सय केजी मुसुरो दाल, दुई सय लिटर खाने तेल, ५० केजी सोयाबिन मस्यौरा र ५० केजी नुन उपलब्ध गराएको बताइएको छ । अहिले पनि बाढीका कारण घरघरमा पानी रहेकाले सो बस्तीका बाढीपीडित तीन ठाउँमा पाल बनाएर बस्न बाध्य भएको बाढीपीडितले बताएका छन् ।

निःशुल्क उपचार

चितवन मेडिकल कलेजका विद्यार्थीले बाढीबाट अति प्रभावित क्षेत्रमध्ये सप्तरीको रमपुरा मल्हनिया र मैनाकडेरीमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।

कलेजका १८ चिकित्सकको एक टोलीले बाढी प्रभावित क्षेत्रका पीडित परिवारलाई निःशुल्क उपचार गर्ने र औषधि दिने चिकित्सक टोलीमा सहभागी प्रकाश मण्डलले जानकारी दिए । हनुमाननगर कंकालिनी नगरपालिका– १५ रम्पुरा मल्हनियाका करिब ३५० र मैनाकडेरीका २५० बाढीपीडितलाई जाँच गरी निःशुल्क औषधि वितरण गरिएको छ ।

शिविरमा खासगरी सबैभन्दा बढी महिलामा कमजोरी, रक्तचाप कम भएको, हाडजोर्नी दुख्ने, रिंगटा लाग्ने लगायत समस्या रहेको र झाडापखाला, रुघाखोकी र श्वासप्रश्वास जस्ता रोगका लक्षण देखापरेको विद्यार्थी फोरम सप्तरीका अध्यक्ष सत्येन्द्रनारायण यादवले बताए ।
रासस

प्रकाशित मिति : ६ भाद्र २०७४, मंगलबार ००:००