५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चार सयभन्दा बढी भाइरल ज्वरोका बिरामीको उपचार



 

रुकुम, ४ भदौ । जिल्लाका विभिन्न ठाउँमा भाइरल ज्वरोको प्रकोप देखापरेको छ । ज्वरोका कारण दैनिक स्वास्थ्य संस्थामा बिरामीको चाप बढिरहेको छ । अहिलेसम्म जिल्लाभर ४५० भन्दाबढी बिरामीको उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुकुमले जानकारी दिएको छ ।

जिल्लाको आठबिसकोट नगरपालिका– ३ खदीमा एक सातादेखि फैलिएको अज्ञात रोग भनिएको भए पनि त्यो भाइरल ज्वरो नै रहेको खुलेको छ । काठमाडौँबाट शुक्रबार रोग प्रभावित ठाउँ खदी पुगेको चिकित्सकको टोलीले उक्त रोग भाइरल ज्वरो रहेको पुष्टि गरेको जिल्ला स्वास्थ्य कार्यालय नन्दलाल महतोले जानकारी दिए ।

यो मौसममा खानपानमा विषेश ध्यान दिनुपर्ने भए पनि स्थानीयले यसमा ध्यान नदिएका कारण भाइरल ज्वरोको प्रकोप फैलिएको बताएको छ । शनिबार साँझसम्म खदीमा मात्र २५० भन्दाबढी भाइरल ज्वरोका बिरामीको उपचार गरिएको छ भने जिल्ला अन्य विभिन्न स्वास्थ्य संस्थामा २०० भन्दाबढी बिरामीको उपचार भएको तथ्यांक जिल्ला स्वास्थ्य कार्यालयमा आएको महतोले बताए । अहिलेसम्मको जाँचबाट बिरामीमा भाइरल ज्वरोको संक्रमण देखिएको चिकित्सकको भनाइ छ ।

सबै ठाउँमा समयमै उपचार शुरु गरिएकाले यसले थप रुप लिन नपाएको बताइएको छ । दूषित पानी पिउँदा तथा खानपानमा ध्यान नदिँदा स्थानीयमा ज्वरोको प्रकोप फैलिएको चिकित्सकले बताएका छन् । जिल्लाका प्रायः सबै स्वास्थ्य संस्थामा बिरामीको उपचारका लागि आउनेक्रम अझै जारी रहेकाले यो संख्या बढ्ने अनुमान गरिएको छ ।

भाइरल ज्वरोका बिरामी बढे

रोल्पा— केही दिनयता भएको निरन्तर वर्षात्का कारण रोल्पा जिल्लामा भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ ।

जिल्ला अस्पताल रेउघा रोल्पामा सो बिरामीका कारण उपचार गर्न आउनेको संख्या दैनिक १५–२० जना रहने गरेको छ भने जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत उपचारमा आउने बिरामीको संख्या सोही अनुपातमा रहेको जिल्ला अस्पतलाल रोल्पाले जनाएको छ ।

बालबालिका तथा ज्येष्ठ नागरिक भाइरल ज्वरोबाट बढी प्रभावित हुने गरेको जिल्ला अस्पताल रोल्पाका सिनियर अहेब कुलबहादुर डाँगीले जानकारी दिए । भाइरल ज्वरो मौसमी समस्या भए पनि यसपटक विगतको तुलनामा बढिरहेको डाँगीले बताए ।

यसैगरी जिल्लाका स्वास्थ्य संस्थामा झाडापखाला, आउँ, रगतमासीका बिरामीहरु पनि बढेको बताइएको छ । झाडापखालाका कारण उपचार गर्न जिल्ला अस्पतालमा मात्र दैनिक १० जनाभन्दा बढी बिरामी आउने गरेको बताइएको छ । वर्षात्को फोहर पानीका कारण टाइफाइड र कमलपित्त पनि देखिन थालेको उनले जानकारी दिए ।

रुघाखोकी लाग्दा मास्क प्रयोग नगर्नु, सिँगान पुछेको हात नधोएर हात मिलाउने जस्ता कारणले भाइरल ज्वरोका बिरामी बढिरहेको स्वास्थ्यकर्मीले बताएका छन् । भाइरल ज्वरो र झाडापखालाका बिरामी बढ्दै गए महामारी फैलनसक्ने सम्भावना भएकाले समयमै नियन्त्रण गर्नुपर्ने स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

पानी शुद्धीकरण गरेर प्रयोग गर्न, नियमितरुपमा शौचालय प्रयोग गरी साबुन पानीले हात धुन तथा मास्क प्रयोग गर्न जिल्ला अस्पताल रोल्पाले सर्वसाधारणमा अनुरोध गरेको छ ।
रासस

प्रकाशित मिति : ४ भाद्र २०७४, आइतबार ००:००