१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राहत, उद्धार तथा पुनःस्थापनामा जुट्न प्रचण्डको आह्वान




धनुषा
, १ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २ नं प्रदेशमा बाढीका कारण निकै नै क्षति भएकाले सबै दलले संकल्प लिई राहत र उद्धारमा जुट्न आह्वान गरेका छन् ।

बिहिबार धनुषाको मिथिलेश्वर मौवाहीमा हुन लागेको शहीद चन्देश्वर मण्डलको स्मृति दिवसका अवसरमा शालिक अनावरण कार्यक्रममा सहभागी हुन आएका दाहालले जनकपुर विमानस्थलमा संक्षिप्त कुराकानी गर्दै यस्तो समयमा कुनै पनि दलले प्रतिपक्षीको भूमिका निर्वाह नगरी सबै मिलेर बाढीपीडितको उद्धारमा लाग्नुपर्नेमा जोड दिए ।

बुधबार बसेको सर्वदलीय बैठकमा पनि आफूले उनीहरुको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कार्य गर्न आग्रह गरेको जानकारी गराउँदै प्रचण्डले पहाडका जनता पनि सहयोग गर्न आतुर रहेको बताए ।

पहाडमा भूकम्प जाँदा भूकम्पपीडितलाई तराई मधेशका जनताले दिल खोलेर सहयोग गरेको स्मरण गराउँदै उनले तराई मधेशका जनतालाई परेको विपद्को परिस्थितिमा सहयोग गर्नका लागि आह्वान गरे ।

एक अर्को प्रश्नमा अध्यक्ष प्रचण्डले संविधान संशोधन विधेयक आउँदो ५ गते पारित हुने विश्वास व्यक्त गरे । नेकपा एमालेले संविधान संशोधनमा समर्थन नजनाए पनि संविधान संशोधन विधेयकलाई निष्कर्षसम्म पुर्याउन सकारात्मक रहेको उनको भनाइ थियो ।

उनले दलहरु आफ्नो पछिल्लो पोजिसनबाट पछि हटेनन् भने संविधान संशोधन विधेयक पारित हुने दाबी गरे ।
रासस

प्रकाशित मिति : १ भाद्र २०७४, बिहिबार ००:००