स्थानीय खबर संवाददाता । सरकारले कर्मचारी खटाउन नसके आफैंले कर्मचारी नियुक्त गर्ने गाउँपालिकाका अध्यक्षहरूले चेतावनी दिएका छन् । गाविस महासंघले आयोजना गरेको कार्यक्रममा अध्यक्षहरूले अहिलेसम्म सरकारले कर्मचारी खटाउन नसकेका कारण काम गर्न गाह्रो भईरहेको बताएका छन् ।
प्रस्तावित गाउँपालिका महासंघको ४ नं. प्रदेशका संयोजक तथा दोलखा तामाकोशी गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले सरकारले कतै पनि कर्मचारी खटाउन नसकेको बताए ।
“बजेट निकासा भयो, साउनको पहिलो हप्ताबाटै काम थाल्ने योजना थियो । कतै कार्यकारी अधिकृत नै छैनन् । कतै लेखाका कर्मचारी खटिएका छैनन्,” पोखरेलले भने, “सरकार लाचार भएर बस्ने हो भने स्थानीय सेवा ऐन जारी गरेर हामी आफैंले कर्मचारी नियुक्त गर्छौं । काम गर्न ढिला भईसक्यो ।”
महासंघको ४ नं. प्रदेश संयोजक तथा भिमसेन गाउँपालिका गोरखाका अध्यक्ष इश्वर पाण्डेले जिल्ल प्रशासन प्रमुख (सीडीओ)को संयोजकत्वमा रहेको कर्मचारी समायोजन समितिले केही काम गर्न नसकेको बताए । “सरकारले कर्मचारी खटाएँ भन्छ, यो झूठ हो । कोही गएकै छैन,” पाण्डेले भने, “सरकारले खटाएर पनि नआएको भए कर्मचारी पठाएको बोर्धाथ त पाउनु पर्ने नि ! बोर्धाथ नै पाएका छैनौं ।”
आईतबार बसेको ३ र ४ नं. प्रदेशका गाउँपालिका अध्यक्षहरूको बैठकले सरकारले कर्मचारी खटाउन नसके आफैंले नियुक्त गरेर काम थाल्ने निर्णय गरेका छन् । जनप्रतिनिधी आईसके पछि पनि विगतको जस्तै भद्रगोल अवस्थामा स्थानीय तहलाई राख्न खोजेको भन्दै उनीहरूले आक्रोस पोखेका छन् ।
“जनप्रतिनिधी आएर राम्रो काम गर्यो भने कर्मचारीलाई लज्जाबोध हुनु स्वभाविक हो । किनकी हिजो १५ बर्ष कर्मचारीले चलाएका थिए,” पाण्डेले भने, “विगतमा जस्तो भद्रगोल हुन नदिन पनि आफैंले कर्मचारी नियुक्त गरेर काम थाल्छौं । कसले रोक्दो रहेछ हेरौंला !”
पहिरो पिडितलाई सहायता दिन खोज्दा लेखापाल बेपत्ता !
रामेछाप गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले खिम्तिको पहिरोपिडितलाई साहयता दिन खोज्दा लेखापाल नै नभएका कारण चेक काट्न नसकिएको बताए । गाउँपालिकाको केन्द्रमा ९ र वडामा ३ जना कर्मचारी खटाउने भनिए पनि कार्यकारी अधिकृतबाहेक कोही नआएको बताए ।
“जति भन्दा पनि लेखापाल बस्न मान्दैन । पहिरोले घर पुरेर बिजोग भएको यत्रो दिन भइसक्यो, रहात दिन खोज्दा चेक काट्ने मान्छेसम्म भएन,” सुनुवारले भने । गएको असार ३१ गते गोकुलगंगा र लिखु गाउँपालिकाको सिमाना भएर बग्ने छतवनी खोलामा आएको बाढीले तीन घर पुरेको थियो । त्यसबेला दुई जनाको मृत्यु र ३ जना वेपत्ता भएका थिए ।
प्रतिक्रिया