१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काम नगर्न निर्वाचित जनप्रतिनिधिलाई अदालतको आदेश




गाईघाट
(उदयपुर), १९ साउन । उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं ४ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अर्को आदेश वा निर्णय नभएसम्म कुनै काम नगर्न उच्च अदालत ओखलढुंगाले अन्तरिम आदेश जारी गरेको छ ।

बुधबार उच्च उदालत ओखलढुंगाका न्यायाधीशहरु टेकराज नेपाल र दीपेन्द्रबहादुर वमको संयुक्त इजलासले सो अन्तरिम आदेश दिएको उच्च अदालत ओखलढुंगाले जनाएको छ ।

असार १४ गते सम्पन्न भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनको समयमा बेलका नगरपालिकाको वडा नं ४ मा मतगणना गर्दा मत खसेको मतदाताको संख्याभन्दा चार मत बढी देखिएपछि सो विषयमा विवाद भएको थियो ।

नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका मनोज तामाङसहितका अन्य सदस्यले सो कुरा मान्य नहुने भन्दै पुनः मतदान गर्नु पर्ने वा पुनः मतगणना गर्नु पर्ने माग राखेको तामाङ पक्षले बताएका छन् ।

यता मतदान अधिकृतले भने एकपक्षीयरुपमा मतगणना सम्पन्न गरेर निर्वाचन मण्डलले एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका दीपक दंगालसहितका अन्य चारजना सदस्यलाई विजय घोषणा गरेका थिए ।

सोही विषयलाई लिएर उच्च अदालत ओखलढुंगामा माओवादी केन्द्र र कांग्रेसका उम्मेदवार सहितका उम्मेदवारले रिट निवेदन दिएको सम्बन्धित पदाधिकारीहरु बताउँछन् ।

निवेदक पक्षहरुले बेलका नगरपालिकाका निर्वाचन अधिकृत हरिप्रसाद पोखरेल र मतदान अधिकृत श्यामनारायण पण्डितसहितका पदाधिकारीलाई विपक्षी बनाएर उच्च अदालतमा रिट दायर गरेका थिए ।

बेलका नगरपालिकामा प्रमुख र उपप्रमुखसहित बहुमत नेकपा एमालेका उम्मेदवारले विजय हासिल गरिसकेका छन् ।
रासस

प्रकाशित मिति : १९ श्रावण २०७४, बिहिबार ००:००