जाजरकोट, १८ साउन । जिल्ला समन्वय समिति जाजरकोटमा कांग्रेस माओवादी गठबन्धनले विजय हासिल गरेको छ । संयोजकमा माओवादी केन्द्रका मनबहादुर रावल र सह संयोजकमा नेपाली कांग्रेसका ज्ञानीप्रसाद शर्मा विजयी भए ।
जिल्ला समन्वय समिति गठनका लागि बुधबार भएको निर्वाचनमा कुल १४ मतमध्ये रावलले आठ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोरे कार्कीले ६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सदस्यहरुमा कांग्रेसबाट तेजविक्रम शाह, कल्दर सिंह, जनक बादी र जुनकिरी दमाईं तथा माओवादी केन्द्रबाट वीरबहादुर रावत, गरिमा शाही र सरस्वती वष्ट शाह निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत लीलाराज अधिकारीले जानकारी दिए ।
जाजरकोटमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीच गठवन्धन भएको थियो । दलीय सहमतिअनुसार दुई दलले गत आइतबार संयुक्त रुपमा उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका थिए । सहमतिअनुसार संयोजकसहित चार पदमा माओवादी केन्द्रले र सहसंयोजकसहित पाँच पदमा कांग्रेसले उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका थिए ।
जिल्लाका सातवटा स्थानीय तहका प्रमुख–उपप्रमुख गरी १४ जनाले जिल्ला समन्वय समितिको नौ पदका लागि मतदान गरेका थिए ।
रासस
प्रतिक्रिया