६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिसामुक्त क्षेत्र घोषणा, पर्याप्त मात्रामा सार्वजनिक शौचालय नहुँदा सकस




वीरगञ्ज
। २७ वडामध्ये १८ वटा वडा दिसामुक्त क्षेत्र घोषणा भए पनि वीरगञ्ज महानगरपालिकाभित्र पर्याप्त मात्रामा शौचालय नहुँदा यात्रु सकसमा परेका छन् ।

एक घर एक चर्पीको नारा अघि सारेको वीरगञ्ज महानगरपालिकाले खुला क्षेत्रमा दिसापिसाब नगर्ने वडालाई धमाधम दिसामुक्त क्षेत्र घोषणा गरेपनि नगर क्षेत्रभित्र पर्याप्त मात्रामा शौचालय नहुँदा बाहिरबाट आउने यात्रुलाई समस्या परेको गुनासो बढ्न थालेको छ ।

साविक गाविसमध्ये ३४ वटा गाविसलाई दिसामुक्त क्षेत्र घोषणा गरिएपनि सो गाविसमा पूर्वाधारको अभावका कारण यात्रु खुल्ला ठाउँमा दिसा पिसाब गर्न बाध्य भएका हुन् ।

वीरगञ्ज महानगरपालिकाभित्र २९ हजार पाँच सय घरधुरी रहेपनि २८ हजार दुई सय २४ घरमा मात्र शौचालय छ । नगर क्षेत्रभित्र २३ वटा सार्वजनिक शौचालय छन् तर ती शौचालय पर्याप्त नभएको बताइएको छ । नगरस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका इन्जिनियर सुनिलकुमार कर्णले शौचालय भएको घरमा सरसफाइ कार्ड दिने गरेको बताए ।

सो कार्ड प्राप्त गर्ने घरधुरीलाई बिजुली बत्ती, खानेपानीलगायतका सुविधा दिँदै आएको छ भने कार्ड नभएका व्यक्तिलाई सो सुविधा कटौती गरिएको इन्जिनियर कर्णको भनाइ छ ।

वीरगञ्जमा रहेका शौचालयमध्ये रु ४२ लाख ५० हजारको लागतमा निर्माण भएको घण्टाघरको शौचालयले प्रतिमहिना रु एक लाख आठ हजार राजस्व नगरपालिकालाई शुल्क बुझाउँदै आएको छ ।

महानगरपालिकाले सीमाक्षेत्र विकास कार्यक्रमअन्तर्गत पर्सा जिल्लाको भारतीय सीमासंग जोडिएको नेपाली सीमाक्षेत्रमा पाँचवटा शौचालय निर्माण गर्ने भएको छ भने यसै आर्थिक बर्षमा नगर क्षेत्रमा थप शौचालय निर्माणका लागि बजेटसमेत छुट्याएको महानगरका सरसफाई संयोजक स्नेहा श्रेष्ठले बताइन् ।
रासस

प्रकाशित मिति : १७ श्रावण २०७४, मंगलबार ००:००