४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनप्रतिनिधिलाई नेपाली पोशाक अनिवार्य




तेह्रथुम
। जिल्लाको छ थर गाउँपालिकामा निर्वाचित सबै जनप्रतिनिधिले नेपाली पोशाक प्रयोग गर्ने निर्णय गरेका छन् । गाउँपालिकाका महिला जनप्रतिनिधिले गुन्यूचोली र ढाकाको पछ्यौरा तथा पुरुष जनप्रतिनिधिले दौरा सुरुवाल, कोट र ढाकाको टोपी अनिवार्य रुपमा प्रयोग गर्ने निर्णय गरेका हुन् ।

बिहीबार बसेको गाउँकार्यपालिकाको पहिलो बैठकले कुनै पनि औपचारिक कार्यक्रममा जनप्रतिनिधिको रुपमा सहभागी हुँदा नेपाली पोशाक लगाउने र जिल्लाको गहनाको रुपमा ढाका कपडाको प्रवर्द्धनका लागि ढाकाका कपडासमेत प्रयोग गर्ने निर्णय भएको अध्यक्ष सन्तवीर तिगेलाले बताए ।

बैठकले गाउँपालिकामा निर्वाचित कोही पनि प्रतिनिधिलाई बेरोजगार वा फुर्सदिलो नहुने गरी विभिन्न १० वटा विषयगत समिति समेत गठन गरेको छ । गाउँकार्यपालिकाले विगतदेखि हालसम्म सञ्चालनमा रहेका सबै योजनाको अनुगमन, निरीक्षण र पारदर्शी बनाउनमा जोड दिने निर्णय गरेको छ ।

जिल्लाका कान्छा प्रमुखका रुपमा चर्चामा आएका युवा नेता तिगेलाले पाँच वर्षभित्र गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने गरी टिमलाई क्रियाशील बनाएर काम गर्ने बताए ।

उनले गाउँपालिकाको समृद्धिका लागि निर्वाचित भएका सबै जनप्रतिनिधिलाई सक्रिय राख्न सबैको आ–आफ्नो क्षमता र दक्षता बमोजिमको जिम्मेवारी दिइएको उल्लेख गरे । छथर गाउँपालिकाका लागि सरकारले रु २३ करोड ४५ लाख बराबरको बजेट सीमा तोकिसकेको छ ।
रासस

प्रकाशित मिति : १३ श्रावण २०७४, शुक्रबार ००:००