१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोलुखुम्बुका सबै स्थानीय तहमा बजेट निकासा




सोलुखुम्बु
। सोलुखुम्बुको एक नगरपालिका र सात गाउँपालिकामा पहिलो किस्ताको बजेट निकासा भएको छ । निर्वाचित जनप्रतिनिधिले कामसमेत शुरु गरिसकेका स्थानीय तहमा समानीकरण तथा चालुतर्फको बजेट निकासा गरिएको कोष तथा लेखा नियन्त्रकको कार्यालय सोलुखुम्बुका सूचना अधिकारी युवराज थापाले जानकारी दिए ।

सूचना अधिकारी थापाका अनुसार सोलुदूधकुण्ड नगरपालिकामा पहिलो किस्ता बापतको रकम रु ११ करोड ५५ लाख ७० हजार र खुम्बुपासाङल्हमु गाउँपालिकामा पाँच करोड ६६ लाख २० हजार निकासा भएको छ ।

यस्तै, दूधकोशी गाउँपालिकामा रु ७ करोड पाँच लाख ४० हजार, दूधकौशिका गाउँपालिकामा ९ करोड ४० लाख १० हजार, नेचासल्यान गाउँपालिकामा ८ करोड १८ लाख २६ हजार, सोताङ गाउँपालिकामा ५ करोड २९ लाख १९ हजार, महाकुलुङ गाउँपालिकामा ६ करोड ४७ लाख ९ हजार र लिखुपिके गाउँपालिकामा ४ करोड ७३ लाख ४६ हजार बजेट निकासा भएको छ ।

यस वर्ष जिल्लाका आठवटै स्थानीय तहमा गरी कुल रु ५ अर्ब ८३ करोड पाँच लाख ३९ हजार बजेट विनियोजन भएकामा त्यसको पहिलो किस्ता बापतको रकम निकासा भएको हो ।

बजेटको अख्तियारी पठाइएको भए पनि खर्च गर्नका लागि स्थानीय तहले नीति तथा कार्यक्रम पारित गर्नाका साथै विशेष परिषद्समेत गर्नुपर्ने हुन्छ । हालसम्म सोलुखुम्बुका कुनै पनि स्थानीय तहले स्थानीय तह सञ्चालन कार्यविधि पारित गरेका छैनन् भने त्यसपछि हुने नीति तथा कार्यक्रमको विषयमा छलफलसमेत शुरु भएको छैन । यसले गर्दा बजेट कार्यान्वयनमा भने अझै केही समय लाग्ने देखिएको छ ।
रासस

प्रकाशित मिति : ९ श्रावण २०७४, सोमबार ००:००