Logo

सात दिनमै दुई हजारभन्दा बढीको नाम दर्ता




पोखरा
। आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनलाई ध्यानमा राखी निर्वाचन आयोगले साउन १ देखि शुरु गरेको मतदाता नामावली संकलन अभियान अन्तर्गत कास्की जिल्लामा सात दिनमै दुई हजार ७०१ जनाले तस्बिरसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

जसमा एक हजार ४७५ पुरुष र एक हजार २२६ महिलाले नाम दर्ता गराएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए ।

बूढाबूढी, अपाङ्गता भएका, विदेशवाट घर फर्केका र नाम दर्ता गर्न छुट भएका मतदाताले विशेष चासोका साथ पोखरा–लेखनाथ महानगरपालिकाको पार्दीस्थित क्षेत्रीय निर्वाचन कार्यालयमा आएर नाम दर्ता गराएको सुवेदीले बताए ।

कार्यालयले यस अवधिमा त्रुटि सच्चाउने, ठाउँ परिवर्तन र मृत्यु भएकाको मतदाता नामावलीवाट नाम हटाउने काम पनि गर्ने बताइएको छ । एक महानगर र चार गाउँपालिका रहेको कास्कीमा हाल दुई लाख २४ हजार ८११ मतदाता छन् ।

जिल्ला समन्वय समितिको निर्वाचन प्रक्रिया शुरु

क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जिल्ला समन्वय समिति कास्कीको निर्वाचन प्रक्रियालाई अघि बढाएको छ । निर्वाचन कार्यक्रमका लागि जिल्ला समन्वय समितिको भवनमा सात कर्मचारीसहित आजदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी पाँच दिनभित्र निर्वाचन कार्यक्रम प्रकाशन गरिने क्षेत्रीय निर्वाचन अधिकारी सुवेदीले जानकारी दिए ।

निर्वाचनका लागि महानगरका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गरी पाँच तहका १० मतदाता छन् । निर्वाचन गराउने जिम्मा जिल्ला न्यायाधीशलाई दिइएको र प्रमुख तथा उपप्रमुखमा उमेदवारी दिँदा ५० प्रतिशत महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ ।

जिल्लामा एक प्रमुख र एक उपप्रमुख, एक महिला सदस्य, तीन दलित वा अल्पसंख्यक सदस्य तथा तीन अन्य गरी नौ सदस्यीय जिल्ला समन्वय समिति गठन हुने छ । सोका लागि पाँच स्थानीय तहमा निर्वाचित ३८१ जना नै उम्मेदवार बन्न सक्ने छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्