९ चैत्र २०८०, शुक्रबार | Sat Mar 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुर नगरपालिकाको प्रथम नगरपरिषद् सुरु




भक्तपुर
। भक्तपुर नगरपालिकाकाको प्रथम नगरपरिषद ३६ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आज (बिहिबार) देखि सुरु भएको छ ।

नगर प्रमुख सुनिल प्रजापतिले कार्यक्रम प्रस्तुत गर्दै स्वीकृती पाइसकिएको २५ शैयाको ख्वप अस्पताल सञ्चालनमा ल्याइने, आगामी आर्थिक बर्ष देखि प्रत्येक वडामा नर्स सेवा सुरु गरिने, नगरपालिकाले सञ्चालन गरिरहेका शिक्षालयमा थप विषयसहित अझ प्रभावकारी रुपमा अघि बढाइने, ख्वप विश्वविद्यालयको प्रक्रिया अघि बढाउन शिक्षाविद्को एउटा समिति बनाइने बताए ।

नीति तथा कार्यक्रममा खानेपानी समस्या समाधान, भूकम्पपीडित नगरवासीले भक्तपुर नगर क्षेत्रभित्र जहाँ घर बनाए पनि नक्शापास दस्तुरमा छुटको व्यवस्था, नगरभित्र परम्परागत शैलीका घर बनाउन घरधनीलाई नगरपालिकाले आर्थिक एवं काठमा आर्थिक सहयोग गरिने उल्लेख छ ।

त्यस्तै हनुमन्ते र खासाङखुसी खोला सफा गर्न सल्लाघारी र हनुमानघाटमा रहेका उपचार पोखरी प्रयोगमा ल्याउन प्रयास गर्ने, हनुमानघाट सुधारको गुरुयोजना तयार गर्ने, जनप्रतिनिधि घर घरमा गएर सामाजिक सुरक्षाभत्ता वितरण गर्ने, प्रत्येक वडामा शिशुस्याहार केन्द्र सञ्चालन गर्ने, नगरपालिकाद्वारा सञ्चालित विद्यालयका शिक्षिका र आयालाई तालिम दिने कार्यक्रम सार्वजनिक गरिएको छ ।

कार्यक्रममा देको–मिवा–इतापाको आवास योजना समयमै सम्पन्न गर्ने, किसानलाई तालिम, अन्तरनगर खेलकुद प्रतियोगिता आयोजना, महेश्वरी खेल मैदान र शहीद स्मृति खेलमैदान व्यवस्थित गर्ने, सार्वजनिक जग्गा संरक्षण, आधुनिक अरनिको सभा भवन निर्माण, अनलाइन नक्शा पास प्रक्रिया सुरु गर्ने लगायत समेटिएको छ ।

परिषद्को उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले जनताको घरदैलामा सिंहदरबार पुर्याउने भनिए पनि सरकारले व्यवहारमा ठीक उल्टो काम गरेको बताए । साँस्कृतिक नगरको घोषणा गर्नु आवश्यक रहेको औँल्याउँदै उनले त्यससम्बन्धी कानुन बनाउन सरकारसंग आग्रह गरे । सांसद बिजुक्छेले भने, “चीनको नौ हजार ९९९ चोक भएको फोरबिडन प्यालेस उत्खनन गरेजस्तै भक्तपुर दरबार क्षेत्रको ९९ चोक उत्खनन गर्नुपर्छ, त्यसतर्फ नगरपालिकाले ध्यान दिनुपर्छ ।”

नगरपालिकाका पूर्वप्रमुख एवं सांसद प्रेम सुवालले भक्तपुर नगरलाई साँस्कृतिक नगर बनाउने नवौँ पञ्चवर्षीय योजनादेखि नै भनिए पनि सरकारले यसतर्फ ध्यान नदिएको गुनासो गरे ।

कार्यक्रममा प्रजिअ द्रोण पोखरेल, भक्तपुरका उपप्रमुख रजनी जोशी, प्रा पृथुचरण वैद्य, संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग, भक्तपुरका कार्यकारी अधिकृत रोहितराज पोखरेल, इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठ, वास्तुकलाशास्त्री राजेन्द्र हाडा लगायतले भक्तपुरलाई साँस्कृतिक नगरीका रुपमा अझ विकास गर्दै लैजानुपर्नेमा जोड दिए । परिषद् यही असार ३१ गतेसम्म चल्नेछ । रासस

प्रकाशित मिति : २९ असार २०७४, बिहिबार ००:००