रत्ननगर (चितवन) । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले स्थानीय तह आर्थिक समृद्धिको आधारका रुपमा खडा भएको बताउका छन् । निर्वाचनसंगै आर्थिक समृद्धिको ढोका खुलेको र अहिले स्थानीय तहको बहुआयामिक भूमिका रहेको उनले बताए ।
पूर्वअर्थमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री महराले आज (सोमबार) चितवनस्थित रत्ननगर उद्योग वाणिज्य सङ्घको अठारौँ साधारणसभालाई सम्बोधन गर्दै तीनवटै तहको निर्वाचनपछि भने आर्थिक विकासले फड्को मार्ने विश्वास व्यक्त गरे । “समृद्धिको आधार भनेको गाउँ र नगरको विकास हो, स्थानीय निकायलाई पर्याप्त बजेट छ,” मन्त्री महराले भने, “समृद्ध गाउँ बनाउन अब सबै जुट्नुपर्छ ।”
नेपालको संविधानले तीन खम्बे अर्थनीति अवलम्बन गरेको सन्दर्भ जोड्दै उनले नेपालमा साधन र स्रोतको कुनै कमी नभएको बताए । “हामी स्रोतसाधनमा धनी छौँ, राष्ट्रिय भिजन बनाउने हो भने अरू देशको तुलनामा नेपालमा छिटो विकास गर्न सकिन्छ,” मन्त्री महराले भने ।
पछिल्लो समयमा आर्थिक अनुशासनको परिपालनामा सुधार भइरहेको बताउँदै उनले लगानी मैत्री र आन्तरिक उत्पादनमा ध्यान दिन सकिए देश समृद्धितर्फ उन्मुख हुने विश्वास व्यक्त गरे । गत वर्ष बन्द भएका २०० उद्योग सञ्चालनमा आउनु समृद्धिका लागि सकारात्मक सन्देश भएको उनको भनाइ थियो ।
कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानबहादुर विसुरालले जिल्लाको आर्थिक अवस्था र औद्योगिक क्षेत्रका गतिविधिबारे जानकारी दिएका थिए । रासस
प्रतिक्रिया