विराटनगर । मोरङका १७ वटा स्थानीय तहमध्ये १५ वटाको निर्वाचन परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएका परिणाममध्ये नेपाली कांग्रेसले सातवटा तहमा विजय हासिल गरेको छ ।
नेकपा एमाले पाँच, नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम नेपाल र नेकपा माओवादी केन्द्रका उम्मेदवार एक–एक स्थानीय तहको प्रमुख पदमा विजयी भएका छन् । विराटनगर महानगरपालिका र धनपालथान गाउँपालिकाको मतगणना भने जारी छ ।
यस जिल्लामा एक महानगरपालिका, आठवटा नगरपालिका र आठवटा गाउँपालिका छ । आठनगरपालिकामध्ये पाँचवटाको प्रमुख पदमा कांग्रेस विजयी भएको छ । सुनवर्षी नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । रतुवामाई, उर्लाबारी, लेटाङ र सुन्दरहरैचा नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवारले विजयी भएका छन् ।
यसबाहेक, पथरी–शनिश्चरे र बेलबारी नगरपालिको प्रमुख र उपप्रमुखमा एमालेले विजय हासिल गरेको छ भने रङ्गेली नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
जिल्लाका आठवटा गाउँपालिकामध्ये कटहरि र केराबारीको अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने मिक्लाजुङ, कानेपोखरी, ग्रामथानमा एमाले, बुढीगङ्गामा नेपाल लोकतान्त्रिक फोरम र जहदा गाउँपालिकामा सङ्घीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् । रासस
प्रतिक्रिया