बैतडी । दशरथ चन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापालाई उच्च अदालत दिपायलले प्रमुखको हैसियतले काम कारवाही नगर्न अन्तरिम आदेश दिएको छ । बुधबार उच्च अदालतका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालको एकल इजलासले यस्तो आदेश दिएको हो ।
मतगणना परिणाम बदर गरी फेरि मतगणना गराउन माग गर्दै राप्रपाको प्रमुख पदका उम्मेदवार पुष्करराज जोशीले रिट दायर गरेका थिए ।उच्च अदालत नियमावली २०७३ को नियम ६१ बमोजिम अन्तरकालीन आदेश माग गरेकाले निवेदनको व्यहोरा र बहस जिकिर सुन्ने र दुवै पक्षलाई रोहबरमा राखी छलफल गराउन उचित हुने निष्कर्षसहित छलफलका लागि असार २९ गतेको पेशी तोकिएको छ ।
असार २९ गते दुवै पक्षसँगको छलफल गरी अदालतले फैसला सुनाउने भएको छ । काँग्रेसका नरेन्द्रसिंह थापासँग ६२ मतअन्तरले पराजित जोशीले गणनामा धाँधली भएको दाबी गर्दै आएका छन् । थापा ३ हजार ७६२ मत ल्याएर विजयी भएका थिए भने जोशीले ३ हजार ७०० मत प्राप्त गरेका थिए । रासस
प्रतिक्रिया