७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकमात्र महिला प्रमुखको घोषणा, ‘नमुना नगरपालिका बनाउँछु’



केशबचन्द्र महरा (डोटी) । असार १४ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट दीपायल सिलगढी नगरपालिकामा प्रमुखमा निर्वाचित भएकी मञ्जु मलासीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरिन् ।

७ नम्बर प्रदेशमै एकमात्र स्थानीय तहको प्रमुखमा निर्वाचित भएकी प्रमुख मलासीले दीपायल सिलगढी नगरपालिकालाई नमुना नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गरिन् । मञ्जुले भनिन्, “यो नगर नमुना नगरपालिका बन्नेछ ।” दीपायल सिलगढी नगरपालिकामा सबै दल, नागरिक र समुदायलाई मिलाएर लैजाने प्रमुख मलासीले प्रतिबद्धता व्यक्त गरिन् ।

आफूले महिला, दलित, पिछडिएका समुदायका पक्षमा काम गर्ने मलासीले बताइन् । मलासीले भनिन्, “म, कुराभन्दा पनि काममा विश्वास गर्ने व्यक्ति हुँ, समग्र नगरको विकास हुन्छ ।” दीपायल सिलगढी नगरपालिकाका प्रमुख मात्र होइन शिखर नगरपालिका प्रमुख सीताराम जोशीले पनि नमुना नगरपालिका बनाउने घोषणा गरेका छन् । सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै जोशीले पनि उक्त प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

दुवै प्रमुखले नमुना नगरको योजनाबारे कुनै जानकारी नदिए पनि डोटीका दुवै नगरपालिकाबाट निर्वाचित उनीहरुले शपथ ग्रहणकै दिनमा नमुना नगरपालिका बनाउने प्रतिबद्धता नागरिक समक्ष व्यक्त गरे ।

स्थानीय तहको निर्वाचनबाट निर्वाचित दीपायल सिलगढी नगरपालिका प्रमुख तथा उपप्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । डोटीको सबैभन्दा पुरानो नगरपालिकामा निर्वाचित प्रमुख मञ्जु मलासी र उपप्रमुख शिवराज खड्कालाई मुख्य निर्वाचित अधिकृत नरनारायण पौड्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

दीपायल सिलगढी नगरपालिकाको हलमा आयोजना गरिएको कार्यक्रममा नगरपालिकाका नौवटा वडाबाट निर्वाचित वडा अध्यक्षलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो ।

दीपायल सिलगढी नगरपालिकाका विभिन्न वडाबाट निर्वाचित सदस्यलाई नवनिर्वाचित मञ्जु मलासीले पद तथा गोपनीयताको शपथ ग्रहण गराइन् । निर्वाचित सबै पदाधिकारीले ईश्वर, देश र जनताका नाममा शपथ ग्रहण गरेका छन् ।

डोटी शिखर नगरपालिकामा पनि सोमबारै पद तथा गोपनीयताको शपथ ग्रहण गरिएको छ । नवनिर्वाचित प्रमुख सीताराम जोशी र उपप्रमुख धौलीदेवी रावलले पद तथा गोपनीयताको शपद ग्रहण गरे ।

शिखर नगरपालिकाका निर्वाचन अधिकृत दमननाथ विष्टले पद तथा गोपनीयताको शपथ ग्रहण गराए । नगरपालिकाका सबै वडाबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो । रासस

प्रकाशित मिति : २० असार २०७४, मंगलबार ००:००