१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस र एमालेबीच झडप, मतगणना स्थगित, दिक्तेलका सबै होटल बन्द



खोटाङ । विजयी जुलुससहित उत्सव मनाउने क्रममा झडप भएपछि खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा मतगणना स्थगित गरिएको छ । नेपाली कांग्रेसले निकालेको विजयी जुलुसमा एमाले कार्यकर्ताले आक्रमण गरेपछि शुक्रबार साँझ दोहोरो झडप भएको थियो ।

रुपाकोट मझुवागढी नगरपालिका–१ मा कांग्रेस विजय भएपछि दिक्तेल बजारमा निकालिएको विजयी जुलुसमा एमालेका कार्यकर्ताले दिक्तेलस्थित त्रिवेणी चोकमा आक्रमण गरेका थिए । दुई पार्टीबीच भएको दोहोरो झडपपछि एमालेका भीम राई, सुवास आचार्य र शिवसाकार खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झडपका क्रममा नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित प्रकाश श्रेष्ठ, क्रियाशील सदस्य बिनिता श्रेष्ठलगायत घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको कांग्रेस खोटाङ क्षेत्र नं २ का क्षेत्रीय सभापति तीर्थराज भट्टराईले जानकारी दिए ।

साँझको समयमा दोहोरो झडप भएपछि उग्ररुप लिने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले दिक्तेल बजारका सबै होटल बन्द गराएको छ । झडपपछि दिक्तेल बजारको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

दुई पार्टीबीच दोहोरो झडप भएपछि कांग्रेसले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भइरहेको मतगणना स्थगित गराएको छ । झडप भएलगत्तै कांग्रेस कार्यकर्ताले शान्तिपूर्ण विजयी जुलुस भइरहँदा बिनाकारण एमाले कार्यकर्ताले आक्रमण गरेको भन्दै आक्रमणमा सहभागीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै मतगणना स्थगित गराएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भइरहेको मतगणना कांग्रेसले स्थगित गराएपछि अहिले सर्वदलीय बैठक बसिरहेको छ । झडप हुनुका कारण अहिलेसम्म पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए । रासस

प्रकाशित मिति : १७ असार २०७४, शनिबार ००:००