१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलाली, कन्चनपुर र डडेल्धुरामा मतगणना सुरु



धनगढी । कैलाली जिल्लाका दुई स्थानीय तहबाहेक सबै स्थानीय तहको निर्वाचनको मतगणना सुरु गरिएको छ । जिल्लाको पहाडी क्षेत्रको चुरे गाउँपालिका र मोहन्याल गाउँपालिका बाहेक छ तहमा गए रातिदेखि र पाँच तहमा बिहानदेखि मतगणना सुरु भएको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख मोहनप्रसाद अर्यालले बताए ।

भौगोलिक विकटताका कारण मतपेटिका मतगणनास्थलसम्म पुर्याउन समय लाग्ने भएकोले चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाको मतगणना बिहिबार रातिदेखि मात्रै सुरु हुनसक्ने अर्यालले बताए ।

जिल्लामा १३ स्थानीय तह रहेका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार टीकापुर नगरपालिकाको प्रमुखमा नेपाल लोकतान्त्रिक फोरम का लौटन चौधरीले १८०, नेपाली कांग्रसका जङ्गबहादुर साउदले १०८ र नेकपा एमालेका तपेन्द्र रावलले १०१, नेकपा माओवादी केन्द्रका ललित थापाले ६६ मत पाएको निर्वाचन अधिकृत मनप्रसाद रेग्मीले बताए ।

यसैगरी, उपप्रमुखमा लोकतान्त्रिक फोरमकी सुदेश्नी चौधरी १७४, नेकाका केशरी रावलले १०६, एमालेकी कमला केसी ८९ र माओवादी केन्द्रकी आशा चौधरीले ७१ मत प्राप्त गरेको निर्वाचन अधिकृत रेग्मीले जानकारी गराए । वडा नं ३, ५ र ६ को मतगणना भइरहेकोमा अहिलेसम्म ५०० मत गणना भएको छ ।

टीकापुरमा कुल ३९ हजार १९२ मतदातामा २७ हजार २३८ मत खसेको निर्वाचन अधिकृत रेग्मीले जानकारी गराए ।

यस्तै, भजनी नगरपालिकाको प्रमुखमा नेपाल लोकतान्त्रिक फोरमका केवल चौधरीले २३९, नेकपा माओवादी केन्द्रका शेरबहादुर चौधरीले १६१, नेपाली कांग्रेसका वीरबहादुर हमालले ६६ मत पाएका छन् । निकै चासोका रुपमा हेरिएको धनगढी उपमहानगरको मतगणना पनि सुरु भएको छ ।

भीमदत्तनगरः कञ्चनपुरका तीनवटा तहमा मतगणना सुरु भएको छ । बुधबार भएको स्थानीय तहको निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने भनिएपनि बिहिबार बिहानदेखि मतगणना थालिएको छ । नौवटा तहमध्ये महाकाली नगरपालिका, वेदकोट नगरपालिका र पुनर्वास नगरपालिकामा मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

एकाबिहानै मतगणना थालिएको महाकाली नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । महाकालीमा २५० मतगणना हुँदा नेकाले १०८, नेकपा एमालेले ५९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २४ मत प्राप्त गरेको छ ।

त्यसैगरी, पुनर्वास नगरपालिकामा केही मतले नेकपा एमालेले अग्रता लिएको छ । ३०० मतगणना हुँदा एमालेले ८७, नेकाले ८० र माओवादी केन्द्रले ६३ मत प्राप्त गरेको छ ।

त्यसैगरी, यहाँको वेदकोट नगरपालिकामा पनि केही बेरअघिदेखि मतगणना सुरु भएको छ भने भीमदत्तनगरपालिकासहित अन्य सबै तहको मतणगना केहीबेरमै सुरु हुने निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।

डडेल्धुराः यहाँको अजयमेरु गाउँपालिकामा ६०० मत गणना भएको छ । मतगणनाको परिणामअनुसार नेकपा माओवादी केन्द्रका उमेश भट्ट विकासले १८८ मत ल्याएर अग्रता लिएका छन् भने एमालेका धनबहादुर साउद १३८ र स्वतन्त्रबाट उमेदवारी दिएका लोकराज भट्टको १०९ मत रहेको छ भने नेपाली कांग्रेसले ९३ मत ल्याएको जनाएका छन् ।

अजयमेरु गाउँपालिका–६ को वडाध्यक्षमा माओवादी केन्द्रकै अग्रता रहेको जनाइएको छ । रासस

प्रकाशित मिति : १५ असार २०७४, बिहिबार ००:००