५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्मचारी समायोजन गर्दा एक तह बढुवा गर्न माग



भक्तपुर । स्थानीय तहमा समायोजन गर्दा सबै सेवामा कार्यरत कर्मचारीको बढुवा गर्न नेपाल निजामती कर्मचारी सङ्गठनले माग गरेको छ ।

नेपाल निजामती कर्मचारी सङ्गठन भक्तपुरले मंगलबार आयोजना गरेको ‘सङ्घीयतामा निजामती कर्मचारीको समायोजन’ विषयको अन्तरक्रिया निजामती, स्वास्थ्य सेवा, संसद् सेवालगायत विभिन्न सेवामा कार्यरत कर्मचारीलाई समायोजन गरी स्थानीय तहमा पठाउन तथा स्थानीय तह, प्रदेश र सङ्घमा कार्य गर्ने विभिन्न सेवाका कर्मचारीलाई एक एक तह श्रेणी बढुवा गरी कर्मचारी समायोजन गर्न माग गरिएको हो ।

अन्तर्क्रियामा आधिकारिक टे«ड युनियनका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ढकालले विभिन्न सेवामा कार्यरत कर्मचारीबीचको विभेद व्यवस्थापनका लागि सरकारले मापदण्ड बनाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष ढकालले सरकारले ट्रेड युनियनसंग छलफल नै नगरी हतारमा अवैज्ञानिक ढङ्गबाट समायोजन ऐन ल्याउन लागेको र आधिकारिक ट्रेड युनियन खारेज गरी कर्मचारीमाथि निरङ्कुशता लाद्ने षड्यन्त्रमा लागेको आरोप लगाए ।

कार्यक्रममा सङ्गठनका केन्द्रीय अध्यक्ष केदारप्रसाद देवकोटाले निजामती र स्वास्थ्य सेवामा रहेको तह र श्रेणी अन्त्य गरी समायोजन गर्ने हो भने अन्तर्राष्ट्रिय मान्यताका आधार तय हुनुपर्ने, स्थानीय, प्रदेश र सङ्घमा कार्यरत कर्मचारीको सरुवा, बढुवा प्रक्रियाको विधि प्रस्ट हुनुपर्ने र समायोजन गर्दा कर्मचारीको एक तह र श्रेणी वृद्धि गर्नुपर्ने बताए ।

सङ्गठनका भक्तपुर अध्यक्ष बद्री कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष घनश्याम सुवेदीले ‘सङ्घीयतामा निजामती कर्मचारीको समायोजन’ विषयको कार्यपत्र प्रस्तुत गर्दै संसद्मा पेस भएको संशोधित कर्मचारी सेवा ऐनमा कर्मचारीको जिम्मेवारी, भूमिका र तहगत सुविधाका सम्बन्धमा रहेको अन्योल अन्त्य हुनुपर्ने बताए ।

कार्यपत्रमाथि सङ्गठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला, उपाध्यक्ष भवानी दाहाल, केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज टीका केसी, ट्रेड युनियन भक्तपुरका अध्यक्ष दिनेश न्यौपानेलगायतले टिप्पणी गरेका थिए । रासस

प्रकाशित मिति : १३ असार २०७४, मंगलबार ००:००