काठमाडौं । चन्द्रागिरी नगरपालिकाका नवनिर्वाचित मेयर घनश्याम गिरीले उपत्यका प्रवेशको मुख्य नाका थानकोट समेटिएको चन्द्रागिरीलाई नमुना नगरपालिका बनाउने प्रतिबद्धता जनाएका छन् ।
चन्द्रागिरी नगरपालिका– १३ पुरानो नैकापस्थित सद्भावना नगर, टोल सुधार समितिद्वारा प्रमुख/उपप्रमुखलगायत वडा अध्यक्ष र सदस्यको सम्मानमा आज आयोजित कार्यक्रममा उनले चन्द्रागिरी क्षेत्रको ऐतिहासिक, धार्मिक र सँस्कृतिक सम्पदाको संरक्षण गर्ने प्रतिवद्धता जनाएका हुन् ।
पर्यटन विकासमा धेरै सम्भावना बोकेको चन्द्रगिरी र कंकाली डाँडामा पर्यटन पदमार्ग र होमस्टे निर्माणका साथै स्थानीय सडक सुधार, खानेपानी, ढल निकास र फोहरमैला व्यवस्थापन गर्न दीर्घकालीन तथा अल्पकालीन कार्ययोजना तयार गरिने प्रमुख गिरीले बताए ।
उपप्रमुख लिसा नकर्मीले संविधान कार्यान्वयन र लोकतन्त्रको विकासमा जनप्रतिनिधिबीच एउटै मत हुन आवश्यक रहेको धारणा राखे । बामपन्थी नेता मोहनचन्द्र अधिकारीले शोषित, पीडित मजदुर र किसानको हक हितका लागि जनप्रतिनिधिले काम गर्न सक्नुपर्नेमा जोड दिए ।
वडा नं. १३ का वडा अध्यक्ष बालमुकुन्द विडारीले वडामा रहेको पर्यटन विकासको सम्भावना र खानेपानी, सडक र ढल व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्ने दृढता व्यक्त गरे । उक्त वडाबाट सदस्यमा ईश्वरी दङ्गाल, रामकुमार भण्डारी, मैंया नेपाली र राजकुमार बोगटी निर्वाचित भएका छन् । रासस
प्रतिक्रिया