१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उत्साह र उमङ्गका साथ असार १४ को व्यग्र प्रतीक्षामा मतदाता



धरान । करिब २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न जिल्लाका सर्वसाधारण उत्साह र उमङ्गका साथ असार १४ को व्यग्र प्रतीक्षामा छन् ।

दुई उपमहानगरपालिका, चार नगरपालिका र छ वटा गाउँपालिका भएको सुनसरीका मतदाता स्थानीय विकासका माग र आवश्यकता पूरा गर्ने उम्मेदवारलाई मतदान गर्नुपर्ने भन्दै एकापसमा सरसल्लाह गरिरहेका छन् ।

यहाँका चिया पसल, हाट, मेलापात, सामाजिक कार्यक्रम र जमघटका छलफल र बहसको विषय स्थानीय चुनाव भएको छ भने राजनीतिक दलका नेता तथा कार्यकर्ता प्रचारप्रसारमा व्यस्त भएका छन् ।

सार्वजनिक यातायातका साधन र राजनीतिक दलका नेता तथा कार्यकर्ताका घर पसलमा दलका झन्डा फहराइएका छन् भने दलगत एवं व्यक्तिगत रुपमा उम्मेदवार घरदैलो कार्यक्रममा जुटिरहेका छन् ।

चार लाख २१ हजार १५९ मतदाता रहेको सुनसरी जिल्लामा चुनावी प्रचारप्रसारको विश्लेषण गर्दा रामधुनी र दुहबी नगरपालिकामा नेपाली कांग्रेसको बलियो स्थिति देखिन्छ भने धरान उपमहानगरपालिका, इनरुवा र बराह नगरपालिकामा नेकपा एमालेको उपस्थिति सुदृढ पाइएको छ । यद्यपि, एमालेले धरान उपमहानगरमा नगर प्रमुखका उम्मेदवार घोषणा गरिसकेको छैन ।

इटहरी उपमहानगरपालिकामा कांग्रेस र एमालेबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ । धरानमा पनि अवस्था त्यस्तै छ । कांग्रेसले कमजोर उम्मेदवार उठाएकाले आफ्नो पक्षका उपमहानगर प्रमुखलाई जिताउन आफूहरुलाई हम्मेहम्मे पर्ने कांग्रेसी कार्यकर्ता बताउँछन् ।

बर्जु, गढी, देवानगन्ज, हरिनगरा, भोक्राहा र कोसी गाउँपालिकामा फोरम लोकतान्त्रिक र नेपाली कांग्रेसबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । बर्जु गाउँपालिका– ३ का फातेचन चौधरी एमालेलाई पनि कम आँक्न नमिल्ने बताउछन् । केही गाउँपालिकामा नेकपा माओवादी केन्द्रको पनि सङ्गठन सुदृढ रहेकाले कांग्रेस, एमाले र माओवादी केन्द्रबीच नै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

शिक्षण पेसाबाट निवृत्त भएका शीशाम्बर झा सुनसरी जिल्लामा कांग्रेस र एमालेबीच नै कडा प्रतिस्पर्धा हुने बताउछन् । उनी भन्छन्– “निर्वाचनप्रति सुनसरीका तराइवासी सबै सकारात्मक छन् । तराई मधेसका नेताप्रति उनीहरुका केही असन्तुष्टि भए पनि मतदानमा सहभागी हुन्छन् । चुनावमा सामेल नभए पछि परिन्छ भन्ने उनीहरुको बुझाइ छ ।”

यसैबीच, जिल्ला निर्वाचन कार्यालयले जिल्लाका सबै मतदान केन्द्रमा खटिने ६०० मतदान अधिकृतको सूची सार्वजनिक गरेको छ । रासस

प्रकाशित मिति : २७ जेष्ठ २०७४, शनिबार ००:००