४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुर १९ मा फरक शैलीमा प्रचार सुरु



चितवन । भरतपुर महानगरपालिका १९ मा पुनःनिर्वाचन नगर्न–नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै यहाँका राजनीतिक दल फरक–फरक शैलीमा निर्वाचनको प्रचारप्रसारमा जुटेका छन् । निर्वाचन आयोगले मतपत्र च्यातिएकाले पुनः मतदान गर्ने निर्णय गरेसँगै दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतले तत्कालका लागि पुनः निर्वाचन प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो ।

आदेश जारी भएपनि नेपाली कांग्रेस र माओवादी केन्द्र पुनः मतदान हुने भन्दै घरदैलो अभियान र चुनावी सभामा जुटेका छन् । नेकपा एमालेले भने मतपत्र च्यात्ने विरुद्धमा जनचेतना अभियान भन्दै घरदैलो गरिरहेको छ । सो वडाका चार स्थानमा कांग्रेस र माओवादीले संयुक्त सम्पर्क कार्यालय स्थापना गरी प्रचारप्रसारमा जुटेका छन् । सो वडाका माओवादीका वडाध्यक्ष र सदस्य पदका उम्मेदवारले नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा मत माग्न थालेका छन् ।

ती दुई पार्टीले प्रमुख पदमा माओवादी केन्द्रकी उम्मेदवार दाहाल र अन्य पदमा कांग्रेसका उम्मेदवारलाई सघाउने सहमति गरी निर्वाचनमा जुटेका हुन् । एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोख्रेलले पत्र बनाएर मतदाताको घर–घरमै पुगेर धन्यवाद ज्ञापन गर्दै मतपत्र च्यात्नेका बारेमा मतदातालाई जानकारी गराउने काम भइरहेको बताए ।

उनले भने, “हामी मतगणना हुन्छ भन्नेमानै छौ, मतदातालाई तपाईको मतपत्र च्यात्ने यो हो भनेर बुझाउने काम भइरहेको छ ।” ‘आफूले दिएको मत कस्ले च्यात्यो’ त्यो जान्ने अधिकार जनतालाई भएकाले मतपत्र च्यात्ने विरुद्धको जनचेतनामूलक अभियान मात्रै गरिएको उनले बताए । एमाले कार्यकर्ताले मतपत्र माओवादीले च्यातेकाले फेरि चुनाव भएमा उनीहरुलाई मत दिन नहुने सन्देश मतदाताकहाँ पुर्याएको पाइएको छ ।

तिनै दल निर्वाचन भएमा आ–आफ्नो पक्षमा मतदान गर्न प्रचारमा जुटेका हुन् । गएको जेठ १४ गते राति मतगणनास्थलमा गणना हुँदै गर्दा ९० वटा मतपत्र उम्मेदवारका प्रतिनिधिले च्यातेसंगै मतगणना स्थगित भएको थियो । भरतपुर महानगरमा २९ वटा वडा छन् ।

जसमध्ये वडा नं– १९ को मतगणना हुँदै गर्दा मतपत्र च्यातिएको हो । यो सहित वडा नं २० को मात्र मतगणना गर्न बाँकी छ । दुई वडाको मतगणना गर्न बाँकी रहँदा नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार दाहाल भन्दा ७८४ मतले अगाडि रहेका थिए । वडा नंम्बर १९ मा एक हजार ८०० मत गन्दा यो मतान्तर घटेर ७३३ मा झरेको थियो । रासस

प्रकाशित मिति : २६ जेष्ठ २०७४, शुक्रबार ००:००