धनगढी । आगामी स्थानीय तहको निर्वाचनमा कैलाली जिल्लावाट ६८९ जना प्रतिनिधि निर्वाचित हुन लागेका छन् । क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका अनुसार, १३ स्थानीय तह रहेको कैलालीमा सबैभन्दा बढी धनगढी उपमहानगरपालिकाबाट १०० प्रतिनिधि निर्वाचित हुन लागेका हुन् ।
यसैगरी टिकापुर नगरपालिका र भजनी नगरपालिकाबाट ५० – ५०, लम्कीचुहा नगरपालिकाबाट ५५, गोदावरी नगरबाट ६५, गौरीगङ्गा नगरबाट ६० र घोडाघोडी नगरपालिकाबाट ६५ जना प्रतिनिधि निर्वाचित हुनलागेका छन् ।
त्यस्तै कैलारी र जानकी गाउँपालिकाबाट ४९ – ४९ जना, चुरे र बर्दगोरिया गाउँपालिकाबाट ३४ – ३४ जना, जोशीपुर र मोहन्याल गाउँपालिकाबाट ३९ – ३९ जना जनप्रतिनिधि निर्वाचित हुन लागेका छन् ।
प्रत्येक नगरपालिका र गाउँपालिबाट एकरएक जना प्रमुख तथा उपप्रमुख, प्रत्येक वडाबाट एक वडा अध्यक्ष र कम्तीमा दुई महिला सदस्यसहित पाँचजना सदस्य निर्वाचित हुन लागेकोमा निर्वाचन पश्चात हुने गाउँ सभा र नगर सभाले थप जनप्रतिनिधि चुन्नुपर्ने व्यवस्था रहेको छ ।
यो निर्वाचनमा पहिलो पटक ठूलो सङ्ख्यामा महिला जनप्रतिनिधि निर्वाचित हुन लागेका छन् । कैलालीमा कुल मतदाता सङ्ख्या ४ लाख ३० हजार २८० रहेकोमा पुरुषको भन्दा महिला मतदाता सङ्ख्या सात हजार ४९९ बढी छ ।
कैलालीको धनगढी उपमहानगरमा ७६ हजार ४३०, टिकापुर नगरपालिकामा ३९ हजार १९२, भजनी नगरपालिकामा २६ हजार ९५२, लम्कीचुहा नगरपालिकामा ३९ हजार २३५, गोदावरी नगरमा ४१ हजार ८२९ र घोडाघोडी नगरपालिकामा ३९ हजार ६८१ मतदाता छन् ।
यस्तै कैलारी गाउँपालिकामा २९ हजार ९९६, चुरे गाउँपालिकामा नौ हजार ७४६, जानकी गाउँपालिकामा २७ हजार ४५८, जोशीपुर गाउँपालिकामा १९ हजार ३६५ बर्दगोरिया गाउँपालिकामा १५ हजार ७०० र माहन्याल गाउँपालिकामा नौ हजार २१७ मतदाता छन् ।
तेस्रोलिङ्गी मतदाताः
कैलालीको भजनी र लम्की चुहा नगरपालिकामा एक एक, धनगढी उपमहानगरमा तीन र कैलारी गाउँपालिकामा दुईसमेत जम्मा सातजना तेस्रोलिङ्गी मतदाता रहेका छन् ।
मतदान स्थलः
असार १४ गते हुने दोश्रो चरणको स्थानीय तहको निर्वाचनका लागि कैलालीमा २३१ मतदानस्थल र ४९० मतदान केन्द्र स्थापना गरिएको छ । यीमध्ये धनगढी उपमहानगरमा ३३, टिकापुर नपा १६, भजनी र लम्कीचुहा नगरपालिकामा १८ १८, गोदावरी नगरपालिकामा २२ तथा घोडाघोडी र गौरीगङ्गामा नगरपालिकामा १७ १७ मतदानस्थलको व्यवस्था गरिएको छ ।
यस्तै कैलारी र जानकी गाउँपालिकामा २० – २०, चुरे र जोशीपुर गाउँपालिकामा १३ – १३, मोहन्याल गाउँपालिकामा १४ र बर्दगोरियामा १० मतदानस्थलको व्यवस्था गरिएको छ । रासस
प्रतिक्रिया