६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले कार्यकर्ताको आक्रमणबाट कांग्रेस कार्यकर्ता घाइते



खोटाङ । चुनावी प्रचारप्रसारका क्रममा नेकपा एमालेका कार्यकर्ताको आक्रमणबाट खोटाङमा नेपाली कांग्रेसका एक कार्यकर्ता घाइते भएका छन् । दुई पार्टीबीचको विवादपछि बुधबार राति एमाले कार्यकर्ताको आक्रमणबाट हलेसी तुवाचुङ नगरपालिका २ डिकुवाका १७ वर्षीय अर्जुन राउत घाइते भएका हुन् ।

एमाले कार्यकर्ताको आक्रमणका कारण घाइते भएका राउतको आँखा तथा ढाडमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताए । घाइते राउतको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि जिल्ला अस्पताल दिक्तेल लैजाने तयारी गरिएको आफन्तले बताएका छन् ।

राउतमाथि आक्रमण गर्ने एमाले कार्यकर्ता हलेसी तुवाचुङ नगरपालिका ७ सल्लेका धनकुमार भुजेललाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको प्रहरी नायब उपरीक्षक प्रधानले बताए । घटनाको विषयमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यता, आफ्ना कार्यकर्तामाथि निर्घात कुटपिट भएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । एमालेले गलत मनासायबाट कुटपिट गरेको भन्दै कांग्रेस हलेसी तुवाचुङ नगरपालिकाले आपत्ति जनाउँदै बिहिबार विरोध जुलुस निकालेको छ ।

कांग्रेसले घाइतेको उचित उपचार र कुटपिटमा संलग्नलाई हदैसम्मको कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय, हलेसीमा एक घन्टा धर्ना दिएको छ । हलेसी तुवाचुङ नगरपालिका २ डिकुवामा स्थानीयवासीको घरमा पार्टीको झन्डा राखेको विषयमा कांग्रेस र एमालेबीच विवाद भएको थियो । रासस

प्रकाशित मिति : २५ जेष्ठ २०७४, बिहिबार ००:००