५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पामा चुनावी चहलपहल बढ्यो



रामपुर (पाल्पा) । आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि चुनावी चहलपहल पाल्पामा पुनः सुरु भएको छ ।

वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति एक महिना पछि सरेपछि केही समय सुनसान बनेको चुनावी चहलपहल अहिले पुनः बढेको छ । असार १४ गतेको मिति नजिकिँदै जाँदा जिल्लामा क्रियाशील राजनीतिक दलका नेता कार्यकर्ता चुनावी माहोल बनाउनमा व्यस्त छन् ।

जिल्लामा रहेका नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र लगायतका विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता तथा उम्मेदवार घरदैलो अभियानमा जुटेका छन् । जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकामा चुनावी सरगर्मीले ढपक्कै ढाकेको छ ।

गाउँ गाउँमा दिनहुँ विभिन्न राजनीतिक दलका उम्मेदवार, नेता कार्यकर्ता गाउँ पस्दा गाउँ नै अहिले चुनावमय बनेको छ । उनीहरु आ–आफ्ना पार्टीका एजेन्डा, कार्ययोजना बोकेर मतादातासमक्ष भोट माग्न थालेका छन् ।

स्थानीय तहको निर्वाचनपछि जनताका समस्या, गाउँका विकास निर्माण, सडक, खानेपानीलगायतका समस्याको समाधान हुने आशामा यहाँका मतदाताले पनि यस पटकको निर्वाचनलाई विशेष महत्वका साथ हेरेका छन् ।

निर्वाचनका लागि भोट माग्न गाउँ पुगेका उम्मेदवार, नेता कार्यकर्तासमक्ष मतदाताले भने गाउँका समस्या, सडक, खानेपानी, बिजुलीको समस्या समाधान हुने भएमा मात्र भोट दिने निस्दी गाउँपालिका– २ सहलकोटका दिलबहादुर रानाको भनाइ छ ।

“पहिला पहिलाको चुनावमा झुटा आश्वासन दिएर नेताहरु चुनावी प्रचारप्रसार गर्न गाउँ आए, अब झुटा आश्वासन होइन, राम्रो एजेन्डा लिएर गाउँको विकास गर्नेलाई मात्र भोट,” उनले भने ।

जिल्लामा मुख्यरुपमा क्रियाशील नेपाली कांग्रेस र एमालेबीच यस पटकको चुनावमा तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । चुनावी मैदानमा उत्रिएका विभिन्न राजनीतिक दलका उम्मेदवार, नेता कार्यकर्तालाई चुनावको प्रचारप्रसार गर्न भ्याइनभ्याइ छ । रासस

प्रकाशित मिति : २५ जेष्ठ २०७४, बिहिबार ००:००