७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उदयपुरमा दलितलाई नसमेटिएको गुनासो



गाईघाट (उदयपुर) । आगामी दोस्रो चरणको स्थानीय तहको चुनावमा दलितलाई उचित स्थान दिएर समेट्न नसकेको उदयपुरका दलितको गुनासो छ ।

जिल्लाका आठवटा स्थानीय निकायमा चार गाउँपालिका र चार नगरपालिकामध्ये दलितलाई वडाको केही सदस्यमा मात्र सीमित गरिएको समेत नेकपा एमाले निकट शिक्षक सङ्गठनका गिरीराज परियारको गुनासो छ ।

नेकपा एमाले र नेपाली कांग्रेसमा गरेर जिल्लामा वडा सदस्यबाहेक अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षमा समेत जिल्लाका राजनीतिक दलले दलितका लागि उचित स्थान व्यवस्थापन नगरेको काहुराष्ट्र उदयपुरका संयोजक दिलीप रसाइलीले बताए ।

यता माओवादी केन्द्र उदयपुरले भने उदयपुरको ताप्ली गाउँपालिकामा यसपटकको निर्वाचनमा पहिलोचोटी एक दलित युवा ढुगराज विकलाई अध्यक्षको पदमा सिफारिस गरेको कुरा माओवादी केन्द्र उदयपुरले बताएको छ ।

यस्तै, काहुराष्ट्र उदयपुरकै सचिव सुमन परियारका अनुसार पनि जिल्लामा ठूला राजनीतिक दलहरुले स्थानीय तहजस्तो जनप्रतिनिधि छनोट गर्ने चुनावमा पनि दलितलाई नगर र गाउँपालिकाका केही वडाका सदस्यमा पद दिएर झाराटार्ने काम गरेको गुनासो गरेका छन् ।

गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षमा समेत दलितको सहभागिता हुनुपर्ने र वडाध्यक्षमा त झनै सहभागिता गराउनु पर्ने तर जिल्लाका आठवटा स्थानीय तहको ७५ वटा वडामा दलित वडाध्यक्षमा समेत नपरेको दलित राष्ट्रिय मुक्तिमोर्चाका सदस्य भीम विकले बताए ।

यस्तो समावेशीताले दलितको उत्थान हुन नसक्ने समेत जिल्लाका दलित अधिकारकर्मी पाण्डु परियारले समेत गुनासो गरे । तर यता जिल्लाका मुख्य राजनीतिक दल एमाले, माओवादी केन्द्र र कांग्रेसका जिल्ला नेताले भने दलितका लागि पनि उचित स्थान व्यवस्था भएको छ र अझै गरिने बताए ।

एक दुई दलितबाहेक अझै पनि गाउँमा दलितको उम्मेदवार नै पाउन मुस्किल पर्ने गरेका कारण पनि स्थानीय तहका मुख्य पदमा समावेश गर्न समस्या रहेको समेत राजनीतिक दलका नेताको धारणा रहेको छ । रासस

प्रकाशित मिति : २३ जेष्ठ २०७४, मंगलबार ००:००