७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुर– १९ मा कांग्रेसलाई माओवादी केन्द्रले सघाउने



चितवन । निर्वाचन आयोगले भरतपुर महानगरपालिका– १९ मा पुनःमतदान गर्ने निर्णय गरेसंगै सो वडामा नेपाली कांग्रेसका वडाध्यक्ष र सदस्यका उम्मेदवारलाई माओवादी केन्द्रले सघाउने सहमति भएको छ ।

दुई दलको आज (आइतबार) बसेको संयुक्त बैठकले यसअघिको सहमतिअनुरुप प्रमुख पदमा माओवादी केन्द्रकी रेणु दाहाललाई र उपप्रमुखमा कांग्रेसकी पार्वती शाहलाई दुवै दलले सर्वाधिक मतदान गरी विजयी गराउने सहमति भएको माओवादी केन्द्र चितवनका इन्चार्ज ईश्वरी भट्टराईले बताए ।

सो वडामा कांग्रेसका तर्फबाट अध्यक्षमा कर्णबहादुर गुरुङ र माओवादी केन्द्रका तर्फबाट खड्कबहादुर गुरुङ उम्मेदवार रहेका छन् । कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठका अनुसार बैठकले आयोगको निर्णयको स्वागत गर्दै यथाशीघ्र निर्वाचनको मिति तय गर्न माग गरेको छ ।
गत आइतबार राति मतगणनास्थलमा गणना हुँदै गर्दा ९० मतपत्र उम्मेदवारका प्रतिनिधिले च्यातेसंगै मतगणना स्थगन भएको थियो । आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा १ को खण्ड ‘ख’ बमोजिक मतगणनास्थलको अनाधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा सोही दफाको उपदफा ४ बमोजिम कब्जाबाट असर परेको सो वडाको मतदान केन्द्रको सम्पूर्ण मतपत्र अवैध घोषणा गरी मतदान रद्द गरेको छ ।

आयोगले सोही ऐनको दफा ५० को उपदफा ५ बमोजिम मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनःमतदान गर्ने व्यवस्था मिलाउन भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । भरतपुर महानगरमा २९ वटा वडा छन् । तीमध्ये वडा नं १९ को मतगणना हुँदै गर्दा मतपत्र च्यातिएको हो । यससहित वडा नं २० को मात्र मतगणना गर्न बाँकी छ ।

दुई वटा वडाको मतगणना गर्न बाँकी रहँदा नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार दाहालभन्दा ७८४ मतले अगाडि रहेका छन् । वडा नं १९ मा एक हजार ८०० मत गन्दा यो मतान्तर घटेर ७३३ मा झरेको थियो । सो वडामा कांग्रेसका अध्यक्ष र सदस्यले अग्रता कायम गरेका थिए । रासस

प्रकाशित मिति : २१ जेष्ठ २०७४, आइतबार ००:००