१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यपुर थिमिः भ्रष्टाचारमुक्त समृद्ध नगरपालिका बनाइने घोषणा



रमेश गिरी । (भक्तपुर), मध्यपुरथिमि नगरपालिकाले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा अर्थात् वृद्धभत्ता घर घरमा पुर्याउने निर्णय गरेको छ ।

सरकारले व्यवस्था गरेअनुसार बैंकसम्म ज्येष्ठ नागरिक भत्ता लिन आउन नसक्ने र हकवालालाई मञ्जुरी दिँदा हातमा भत्ता नपर्ने पाइएकाले यस्तो निर्णय गरिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।

सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका बैंकसँग नगरपालिकाले छलफल गरिसकेको छ । बैंकका कर्मचारीले नै घर घरमा भत्ता पुर्याउने गरी काम अगाडि बढिसकेको छ । नगरपालिकाको प्रमुख समस्याका रुपमा रहेको खानेपानी समस्या हल गर्दै आगामी छ महिनाभित्र सुलभ रुपमा पानी वितरण गर्ने निर्णय पनि भएको छ ।

मध्यपुरथिमिमा लालपुर्जा नभएका भूकम्पपीडितलाई पनि वडा कार्यालयको सिफारिसका आधारमा घर निर्माणका लागि स्वीकृति प्रदान गर्ने तथा भूकम्पपीडितको घर निर्माणमा नक्सा पास निःशुल्क गरिने निर्णय गरिएको छ ।

श्रेष्ठले भने, “नगरपालिकाले गर्ने कुनै पनि सेवाप्रवाहमा जनताको गुनासो आउनु हुँदैन भन्ने मान्यताका साथ काम गर्न निर्देशन दिइएको छ, गलत गर्ने कर्मचारीलाई कारबाही गरिने राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार दिने र नयाँ कर्मचारीको हकमा कुनै पनि गलत काम गरेको पाइए ‘हायर एन्ड फायर’को नीति लिएका छौँ, मध्यपुरथिमि नगरपालिकालाई भ्रष्टाचारमुक्त नगर बनाउने हाम्रो प्रयासलाई कर्मचारी र जनताले साथ दिने विश्वास छ ।”

नक्सा पासमा अनियमितता हुने गुनासो बढी रहेकाले नगरप्रमुखले प्रत्यक्ष चासो दिने गरी व्यवस्था गरिएको छ । श्रेष्ठले भने, “नक्सा पास, योजना छनोटजस्ता विषयमा मैले नै अधिकार राखेको छु, प्राविधिकले सबै प्रक्रिया पुर्याएपछि नियमसङ्गत रुपमा आएको नक्सा १५ देखि १८ दिनभित्रमा पास हुन्छ, प्रक्रिया नपुगेकालाई फाइलमै के प्रक्रिया आवश्यक छ, लेखेर पठाइने व्यवस्था गरेको छु, अब नागरिकले नगरपालिकालाई बुझाउने राजस्वबाहेक अरु केही पनि खर्च नगरी नक्सापास गराउन सक्ने व्यवस्था गरेको छु ।”

विगतमा नक्सा पास नभएका, फरफारक नभएका र विभिन्न समस्याले निर्माण सम्पन्नको प्रमाणपत्र नपाएकाहरुका लागि तत्काल सबै प्रक्रिया पूरा गरेर नगरपालिकामा सम्पर्क गर्न सार्वजनिक आह्वान गरिएको छ । उनले मापदण्डविरुद्ध जाने तथा सार्वजनिक वा अरुको जग्गा मिचेर मापदण्ड विपरीत संरचना निर्माण गर्नेलाई अत्याधिक जरिवानासहितको सजायको व्यवस्था गरिएको छ ।

नगरपालिकामा लामो समयदेखि रहेको बेथिति र भ्रष्टाचारलाई नियन्त्रण गर्दै नगरको समग्र विकासमा आफ्नो ध्यान केन्द्रित रहेको श्रेष्ठले स्पष्ट गरे । नगरपालिकासँग सम्बन्धित कुनै पनि भवन वा सडक निर्माणका क्रममा आफैँ गएर अनुगमन गरिने र विशेष टोलीद्वारा अनुगमन गराइने बताउँदै उनले तोकेको गुणस्तरीयता र मापदण्ड नपुगेको पाइएमा फरफारक एवं बिल भुक्तानी रोक्का गर्ने निर्णयसमेत नगरपालिकाले गरेको जानकारी दिए ।

भित्री बाहिरी चक्रपथ

नगरपालिकाले मध्यपुरथिमिलाई घेर्ने गरी बाहिरी र भित्री चक्रपथ निर्माण गर्ने भएको छ । मध्यपुरथिमि नगरपालिका घेर्ने गरी बगेको मनोहरा खोला र हनुमन्ते खोला किनारामा करिडोर निर्माण गरी चक्रपथको रुप दिइने तथा नगरपालिकाभित्र जाने भित्री चक्रपथ निर्माण गर्ने योजना अगाडि सारिएको छ ।

त्यसैगरी नगरपालिकाले प्रत्येक वडामा एक जना चिकित्सकसहित प्रारम्भिक स्वास्थ्यचौकी स्थापना गरी सहज उपचारको व्यवस्था गरिने छ । नगरपालिकाद्वारा सञ्चालित कोरिया नेपालमैत्री अस्पतालको नाम परिवर्तन गर्दै यसलाई सुविधासम्पन्न बनाएर अन्य अस्पतालबाट बिरामी सिफारिस गरेर यहाँ पठाउन सक्ने गरी व्यवस्थापन गर्ने निर्णयसमेत भएको छ ।

यहाँ आएका बिरामीको सबै उपचार यहीँबाट हुने व्यवस्था गरिने, नर्सिङ कलेज सञ्चालन गरिने नगरपालिकाले नै कलेज तथा इन्जिनियरिङ कलेज सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
त्यस्तै थिमि क्षेत्रलाई शैक्षिक केन्द्र बनाइने, मन्टेस्वरीदेखि उच्च शिक्षासम्म अध्ययन गर्ने विद्यालय पनि नगरपालिकाले सञ्चालन गर्ने, सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका कार्यक्रम ल्याउने र निजी विद्यालयले सरकारी विद्यालयलाई सहयोग गर्ने कार्यक्रम ल्याउने तयारी गरिएको उनले बताए ।

मध्यपुरलाई सफा सहर बनाउने रणनीति तय गरिएको, यहाँका ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण, पुनःनिर्माण, जीर्णोद्धारको कार्यक्रम अघि सारिएको तथा यहाँका कला, नृत्यको संरक्षण गर्ने र कोष निर्माण गरिने भएको छ । नगरलाई पर्यटकीय नगरीका रुपमा विकास गर्ने रणनीति अगाडि सारिएको छ । तरकारीका लागि प्रख्यात ठिमी जिब्रो छेड्ने जात्रा, सिन्दुरजात्रा (३२खटयात्रा), सिद्धिकाली जात्रा, नीलबाराही नाच, लाय्कु भैरवनृत्य र मकुण्डोका लागि प्रख्यात छ ।

यहाँका खेलकुदसम्बन्धी क्लबलाई सहयोग गरिने, तालिका बनाएर नगरपालिकाकै बजेटमा प्रत्येक महिना खेलकुद प्रतियोगिता गरिने, मध्यपुरबाट उत्कृष्ट भएका खेलाडीलाई एक वर्षसम्म भत्ताको व्यवस्था गरिने बताउँदै नगरप्रमुख श्रेष्ठले खेल मैदान र सभागृहसमेत निर्माण गरिने जानकारी दिए । सुरक्षित नगरका लागि सिसी क्यामेरा एवं नगर प्रहरीको दरबन्दी व्यवस्था मिलाएर नगर प्रहरी पनि परिचालन गरिने छ ।

उनले कृषिमा आधुनिकीकरण भित्र्याइने, कृषि क्षेत्रमा भूउपयोग नीति बनाएर कृषि क्षेत्र घोषणा गरिने, नमुना कृषि एवं तरकारी उत्पादनलाई प्रोत्साहन गर्ने, सिँचाइको व्यवस्था मिलाइने कम्पोस्ट मल उत्पादनलाई प्रोत्साहन गरिने, कृषिको बजार व्यवस्थापन गरिने र थिमिमै कृषिको बजार निर्माण गर्नेसम्मका योजना अगाडि सारिएको छ ।

आगामी पाँच वर्षभित्र मध्यपुरथिमि नगरपालिकाको मुहार फेर्दै ‘मेरो नगर सम्पन्न नगर’ भन्ने भावना थिमि बासिन्दामा जाग्ने गरी काम गरिने नगरप्रमुख श्रेष्ठले बताए । रासस

प्रकाशित मिति : २० जेष्ठ २०७४, शनिबार ००:००